जनकपुरधाम, ९ बैशाख । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मनिष झाले जनकपुरधाममा बुद्ध एयरका सञ्चालक वीरेन्द्र बहादुर बस्नेतसँग भेटवार्ता गर्दै क्षेत्रीय हवाई कनेक्टिभिटी र व्यावसायिक कृषि विस्तारका विषयमा महत्वपूर्ण छलफल गरेका छन् ।

भेटमा सांसद झाले धार्मिक, सांस्कृतिक तथा पर्यटन दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको जनकपुरधाम–अयोध्या हवाई सेवा सञ्चालनको आवश्यकता औंल्याएका ।

उनले रामायण सर्किटअन्तर्गत पर्ने यी दुई धार्मिक शहरबीच प्रत्यक्ष हवाई सेवा सञ्चालन हुन सके नेपाल–भारत धार्मिक पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने बताए ।

उनका अनुसार जनकपुरधामस्थित जनक मन्दिर र भारतको अयोध्यास्थित राम मन्दिरबीच वार्षिक रूपमा हजारौं श्रद्धालुहरूको आवागमन हुने भए पनि सहज यातायात अभावका कारण तीर्थयात्रुहरूले सास्ती खेप्नुपरेको अवस्था छ ।

‘हवाई सेवा सुरु गर्न सके धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्र चलायमान बन्नेछ,’ सांसद झाको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ ।

भेटका क्रममा बुद्ध एयरका सञ्चालक बस्नेतले सम्भावित हवाई सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक, व्यावसायिक र नीतिगत पक्षहरूको अध्ययन गर्न सकिने संकेत दिएका थिए ।

उनले माग र सम्भावनाको आधारमा निजी क्षेत्रको सक्रियता बढाउन आफूहरू सकारात्मक रहेको धारणा व्यक्त गरेका छन् ।

यस्तै, छलफलमा कृषि क्षेत्रमा निजी लगानी विस्तार गर्ने विषय पनि प्राथमिकतामा परेको थियो ।

कोशी प्रदेशमा आरजु राइस मिलले हासिल गरेको सफलतालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै मधेश प्रदेशमा पनि सोही ढाँचाको आधुनिक कृषि उद्यम स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति भएको बताइएको छ ।

सांसद झाले मधेश प्रदेश कृषि उत्पादनका हिसाबले सम्भावनायुक्त क्षेत्र भए पनि प्रशोधन उद्योगको अभावले किसानले उचित मूल्य नपाइरहेको उल्लेख गरे ।

‘यदि कृषि उत्पादनसँगै प्रशोधन उद्योग जोड्न सकियो भने किसानको आम्दानी वृद्धि हुनुका साथै रोजगारी सिर्जना हुनेछ,’ उनले भने ।

उनले निजी क्षेत्रसँग सहकार्य गर्दै धान, गहुँ लगायतका उत्पादनको आधुनिक प्रशोधन उद्योग स्थापना गर्न सकिने र यसले मधेशको कृषि अर्थतन्त्रलाई नयाँ गति दिने विश्वास व्यक्त गरे ।

भेटवार्तालाई मधेश प्रदेशको आर्थिक तथा पूर्वाधार विकासका लागि सकारात्मक पहलका रूपमा हेरिएको छ ।

जनकपुरधाम–अयोध्या हवाई सेवा सञ्चालन र कृषि उद्यम विस्तारका विषयमा आगामी दिनमा थप ठोस निर्णय र कार्यान्वयनको प्रक्रिया अगाडि बढ्ने विश्वास गरिएको छ ।