जनकपुरधाम, ८ बैशाख । मधेश प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत एक प्रहरी वरिष्ठ नायव निरीक्षकमाथि गम्भीर आरोप लागेपछि निलम्बन प्रक्रिया अघि बढाएको जनाएको छ ।

कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सई सागर शमसेर जबराले आफ्नै कार्यालय प्रमुख तथा प्रहरी संगठनलाई बदनाम गर्ने उद्देश्यले एक व्यापारीलाई फोन गरी बनावटी कथा तयार पारी अडियो रेकर्ड गराएको र उक्त सामग्री सार्वजनिक मिडियामार्फत प्रसारण गराएको आरोप लागेको छ ।
प्रहरीका अनुसार उक्त कार्य प्रहरी आचरणविपरीत तथा कानूनविपरीत भएकाले प्रहरी नियमावली २०७१ (संशोधनसहित) बमोजिम उनलाई निलम्बन गर्ने प्रक्रिया अघि बढाइसकिएको छ ।

घटनाबारे थप अनुसन्धान तथा छानबिन जारी रहेको जनाइएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक भेषराज रिजालले यस विषयमा सत्यतथ्य विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जानकारी दिएका छन् ।

प्रहरीले भ्रामक र तथ्यहीन सूचनाप्रति सजग रहन तथा यस्ता सामग्रीमा विश्वास नगर्न आमसञ्चार माध्यम र नागरिकलाई अपिलसमेत गरेको छ ।