जनकपुरधाम, ८ बैशाख । तीन दिनदेखि जारी सामाजिक अभियन्ता धर्मेन्द्र कुमार कर्णको सत्याग्रह अन्ततः मंगलबार साँझ स्थगित गरिएको छ ।

मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी स्वयं अनसनस्थल पुगेर कर्णलाई जुस खुवाउँदै आन्दोलन स्थगन गराएकी हुन् ।

जनकपुरधामस्थित जनक मन्दिर अगाडि जारी सत्याग्रह स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि चासोको केन्द्रमा पुगेको थियो । राष्ट्रिय मानव अधिकार आयोगको सुझावपछि प्रदेश सरकार संवादमा आएको देखिएको छ ।

अनसन स्थगित गराउँदै मन्त्री तिवारीले कर्णका मागहरूलाई गम्भीर रूपमा लिइएको बताउँदै ती विषयमा चरणबद्ध रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाइन् ।

‘शिक्षा प्रणाली सुधार र अर्थतन्त्रको लागत घटाउने जस्ता विषयहरू अत्यन्त महत्वपूर्ण छन् । कर्णजीले उठाउनुभएका मुद्दाहरूलाई हामीले सकारात्मक रूपमा लिएका छौं,’ मन्त्री तिवारीले सञ्चारकर्मीहरूसँग भनिन् ।

उनले थपिन्, ‘सरकार वार्ताबाटै समाधान खोज्ने पक्षमा छ । सम्बन्धित निकायहरूसँग समन्वय गरेर उहाँका मागहरू कार्यान्वयनतर्फ लैजान पहल गरिनेछ ।’

मन्त्री तिवारीले कर्णको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै जीवन र स्वास्थ्यभन्दा ठूलो कुनै आन्दोलन नहुने उल्लेख गरिन् । ‘उहाँको स्वास्थ्य जोगाउनु पहिलो प्राथमिकता हो, त्यसैले हामीले आग्रह गरेर अनसन स्थगित गराएका हौं,’ उनले भनिन् ।

त्यस्तै, सत्याग्रह स्थगित गरेपछि सामाजिक अभियन्ता कर्णले आफूले उठाएका मुद्दाहरूप्रति सरकारको ध्यान गएको भन्दै आंशिक सन्तुष्टि व्यक्त गरे ।

‘मेरो उद्देश्य व्यक्तिगत नभई प्रणाली सुधार हो । सरकारबाट पहिलो पटक औपचारिक रूपमा प्रतिबद्धता आएको छ । यसलाई सकारात्मक रूपमा लिएको छु,’ कर्णले भने ।

उनले थपे, ‘यदि प्रतिबद्धता कार्यान्वयनतर्फ अघि बढ्यो भने यो आन्दोलन सफल ठहरिनेछ । तर, कार्यान्वयनमा ढिलाइ वा बेवास्ता भए पुनः आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुनेछौं ।’

कर्णले आइतबारदेखि सुरु गरेको सत्याग्रहमार्फत शिक्षा प्रणालीमा सुधार, माध्यमिक तहको गुणस्तर अभिवृद्धि, अर्थतन्त्रको लागत न्यूनीकरण, निजी क्षेत्रका अवरोध हटाउनेलगायतका मागहरू अघि सारेका थिए ।

साथै, नेपाल वान टेलिभिजनसँग सम्बन्धित नीतिगत अनियमितताको छानबिन, गुनासो व्यवस्थापन प्रणाली सुधार र धार्मिक स्थलको जग्गा दर्ता समस्या समाधान जस्ता विषय पनि उनका एजेन्डामा समेटिएका थिए ।

अनसन सुरु भएको पहिलो दिन नै प्रहरीले कर्णलाई नियन्त्रणमा लिए पनि कानुनी आधार स्पष्ट नभएपछि सोही रात रिहा गरेको थियो ।

त्यसपछि पुनः अनसनमा बसेका कर्णको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि विभिन्न निकायले संवादमार्फत समाधान खोज्न दबाब दिँदै आएका थिए ।