सरकारको बेवास्ताविरुद्ध कर्णको सत्याग्रह

जनकपुरधाम, ७ बैशाख । सामाजिक अभियन्ता धर्मेन्द्र कुमार कर्णले अर्थतन्त्रको लागत घटाउने र शिक्षा प्रणाली सुधार गर्ने उद्देश्यसहित आइतबारदेखि जनकपुरधाममा आमरण अनसन सुरु गरेका छन् ।
जनक चोकस्थित जनक मन्दिर अगाडि सत्याग्रहमा बसेका कर्णले पाँच बुँदे माग सार्वजनिक गर्दै संघीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले आफूले प्रस्ताव गरेको परिमार्जित शिक्षण विधि कार्यान्वयनमा देखिएका अवरोध हटाउन माग गरेका छन् ।
अभियन्ता कर्णका अनुसार आधुनिक र सुधारिएको शिक्षण प्रणाली लागू गर्न सके माध्यमिक तहको शिक्षा गुणस्तरीय बन्ने मात्र नभई समग्र अर्थतन्त्रको लागतसमेत घटाउन सहयोग पुग्नेछ । तर, यस्तो प्रणाली कार्यान्वयनका लागि आवश्यक पूँजी व्यवस्थापनमा समस्या रहेको र सरकारबाट अपेक्षित सहयोग नपाएको उनले गुनासो गरे ।

उनले हालै सार्वजनिक संघीय सरकारको राष्ट्रिय प्रतिबद्धता पत्रमा आफ्ना माग सम्बोधन हुने संकेत देखिएको उल्लेख गर्दै विश्वसनीय प्रतिक्रिया आएमा अनसन स्थगित गर्न सकिने बताएका छन् ।
यसअघि कर्णले मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवसमक्ष आफ्नो प्रस्ताव प्रस्तुत गर्न खोजे पनि बेवास्ता गरिएको आरोप लगाएका छन् ।
अनसन सुरु गरेकै दिन आइतबार दिउँसो प्रहरीले कर्णलाई नियन्त्रणमा लिएको थियो । तर, कानुनी आधार स्पष्ट नभएपछि सोही रात उनलाई रिहा गरिएको थियो । रिहा भएलगत्तै कर्ण पुनः अनसनस्थलमै फर्केर आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।
कर्णले अघि सारेका मागहरूमा माध्यमिक शिक्षामा गुणस्तर सुधार तथा लागत न्यूनीकरण सम्बन्धी प्रस्तावप्रति प्रदेश सरकारको स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने, निजी क्षेत्रबाट भइरहेको लागत घटाउने प्रयासमा देखिएका अवरोध संघीय सरकारले हटाउनुपर्ने, नेपाल वान टेलिभिजन सञ्चालनमा भएको भनिएको नीतिगत अनियमितताबारे छानबिन गर्नुपर्ने, जनप्रतिनिधिसमक्ष दर्ता गरिएका गुनासोमा ४८ घण्टाभित्र प्रारम्भिक प्रतिक्रिया दिने व्यवस्था लागू गर्नुपर्ने तथा जानकी मन्दिरलगायत धार्मिक स्थलसँग सम्बन्धित जग्गा दर्ता समस्या समाधान गर्नुपर्ने विषय समावेश छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


