काठमाडौं, ७ बैशाख । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिन सुनिश्चित गर्न उनलाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेको छ ।

प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा मन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने उल्लेख गर्दै यसलाई स्वार्थको द्वन्द्वको स्पष्ट उदाहरणका रूपमा व्याख्या गरिएको छ ।

वक्तव्यमा आफ्नैविरुद्ध छानबिन भइरहेका बेला मन्त्री पदमा कायम रहनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत हुने जिकिर गरिएको छ ।

मुभमेन्टले निष्पक्ष न्यायका लागि गुरुङको पदत्याग अनिवार्य भएको बताउँदै सरकारलाई जिम्मेवार निर्णय लिन आग्रह गरेको छ । साथै, मन्त्री नियुक्ति र बर्खास्तीलाई हल्का राजनीतिक खेलको विषय नबनाउन चेतावनी दिँदै नेतृत्वबाट परिपक्वता, दूरदर्शिता र जवाफदेहिता अपेक्षित रहेको जनाएको छ ।

वक्तव्यमा ‘यो कुनै साधारण सरकार नभई शहीदहरूको बलिदानबाट स्थापित जनादेशको प्रतिनिधित्व हो’ भन्दै जनताको त्यागमाथि सस्तो राजनीति नगर्न पनि आग्रह गरिएको छ । सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता स्वीकार्य नहुने चेतावनीसमेत दिइएको छ ।

विवादास्पद व्यापारी दीपक भट्टसँगको कथित साझेदारी सार्वजनिक भएपछि गृहमन्त्री गुरुङमाथि प्रश्न उठ्दै आएको छ ।