जनकपुरधाम, ६ बैशाख । भारतको तुलसी पीठका पीठाधीश्वर जगद्गुरु रामभद्राचार्यले नेपाल समृद्ध र पूर्ण रूपमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका छन् ।

जानकी नवमीको अवसरमा जनकपुरधाम आएका उनले नेपाल कुनै पनि देशमा निर्भर हुनु उपयुक्त नभएको बताए ।

नेपाल भ्रमणका क्रममा आफूलाई आफ्नै घर आएको जस्तो अनुभूति हुने उल्लेख गर्दै उनले नेपाल–भारतबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखे ।

उनले भारतप्रति नकारात्मक सोच राख्नु उचित नभएको भन्दै पारस्परिक सम्मान र सहकार्य आवश्यक रहेको बताए ।

समसामयिक राजनीतिक प्रसङ्गमा बोल्दै उनले वालेन्द्र शाहको कार्यशैलीप्रति आलोचना गरे ।

नेतृत्वमा गाम्भीर्य र राजनीतिक अनुभवको आवश्यकता औंल्याउँदै उनले जिम्मेवार पदमा रहेका व्यक्तिहरूले परिपक्वता देखाउनुपर्ने बताए ।

त्यसैगरी, उनले नेपालमा हिन्दू धार्मिक मूल्य मान्यताप्रति आकर्षण र सम्मान कायम रहनुपर्ने उल्लेख गरे ।

पछिल्लो समय बढ्दो धर्मान्तरणप्रति चिन्ता व्यक्त गर्दै उनले धार्मिक पहिचान संरक्षणको आवश्यकता औंल्याए ।

राजनीतिक संरचनाको सन्दर्भमा उनले नेपालमा राजसंस्थाको आवश्यकता रहेको धारणा पनि राखे । यद्यपि, यो विषय नेपाली जनताको निर्णयमा निर्भर रहने बताए ।