टेम्पोमाथि रुख खस्दा जलेश्वरमा दुई जनाको मृत्यु, चार घाइते

जनकपुरधाम, ५ बैशाख । महोत्तरीको जलेश्वरमा आएको हावाहुरीका कारण चलिरहेको टेम्पुमाथि रुख ढल्दा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।
जलेश्वरबाट जनकपुरधामतर्फ जाँदै गरेको ज १ घ ४८५० नम्बरको टेम्पुमाथि सडक किनारको रुख अचानक ढलेपछि दुर्घटना भएको हो । घटना जलेश्वरस्थित नेपाली सेनाको ब्यारेक नजिकै भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका–२० बस्ने अन्दाजी ४१ वर्षीया सकुन्तला देवी र महोत्तरीको एकडारा गाउँपालिका–३ बस्ने ३३ वर्षीय राहुल मलिकको मृत्यु भएको छ । दुवै जनाको शव प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।
घाइतेमध्ये टेम्पु चालक जलेश्वर नगरपालिका–११ बस्ने ५२ वर्षीय हरेन्द्र ठाकुरको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । त्यस्तै, एकडारा गाउँपालिका–३ कै ४३ वर्षीया फेकनी देवी मलिकलाई पनि गम्भीर अवस्थामा जनकपुरधाम रिफर गरिएको छ ।
अन्य घाइतेहरूमा जनकपुरधाम उपमहानगरपालिका–१२ बस्ने १७ वर्षीय धिरज मलिकको जलेश्वरमै उपचार भइरहेको छ भने जनकपुरधाम–२० की १४ वर्षीया रिया पण्डितको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
हावाहुरीका कारण सडक छेउको रुख ढलेर गुडिरहेको सवारीमाथि खस्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनापछि स्थानीयवासी, प्रहरी र नेपाली सेनाको टोलीले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


