जनकपुरधाम, ५ बैशाख । नेपाल–भारत खुला सीमा संवाद समूहले सरकारको पछिल्लो भन्सार नीतिप्रति असन्तुष्टि जनाउँदै तत्काल सुधार गर्न माग गरेको छ ।

समूहले सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जीवनमा प्रत्यक्ष असर पर्ने भन्दै १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार लाग्ने व्यवस्था अव्यवहारिक भएको टिप्पणी गरेको हो ।

समूहका प्रवक्ता प्रमोद कुमार साहद्वारा जारी प्रेस विज्ञप्तिमा सीमाबाट सानो परिमाणमा सामान ल्याउने सर्वसाधारण नागरिकलाई अनावश्यक दुःख दिइएको उल्लेख छ ।

विज्ञप्तिमा यस्तो प्रावधान तत्काल खारेज गरी घरायसी प्रयोजनका सामग्रीमा शून्य भन्सार लागू गर्न सरकारसँग माग गरिएको छ ।

यस्तै, धार्मिक तथा सांस्कृतिक आवतजावतलाई सहज बनाउन ४८ घण्टासम्मको ‘कस्टम्स फ्री’ सुविधा दिनुपर्ने प्रस्ताव पनि समूहले अघि सारेको छ । यसले नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।

समूहले तस्करी नियन्त्रणमा भने कडाइ गर्नुपर्नेमा जोड दिएको छ ।सामान्य उपभोक्ता र व्यावसायिक तस्करबीच स्पष्ट भिन्नता छुट्याई कानुनी कारबाही अघि बढाउन सरकारलाई सुझाव दिइएको छ ।

त्यसैगरी, सीमा क्षेत्रमा व्यवस्थित बजारको स्थापना गरी सस्तो मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन र अत्यावश्यक खाद्यान्नमा भन्सार छुट दिनुपर्ने माग पनि विज्ञप्तिमा समेटिएको छ ।

समूहले सीमा क्षेत्रको संवेदनशीलता बुझेर मागहरू सम्बोधन नगरे थप दबाबमूलक कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएको छ ।