जनकपुरधाम, ५ बैशाख । जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरले तराई–मधेशसँग जोडिएका सीमा नाकाबाट सय रुपैयाँसम्मका सामान भन्सार नतिरी ल्याउन पाइने प्रावधानप्रति आपत्ति जनाएका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै ठाकुरले उक्त व्यवस्था अदूरदर्शी भएको टिप्पणी गर्दै सरकारलाई तत्काल पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा मधेश र भारतबीच सडक मार्गबाट दैनिक आवतजावत गर्ने नागरिकलाई मात्र लक्षित गरी ल्याइएको यस्तो प्रावधान व्यवहारिक नभएको उल्लेख गरिएको छ ।

यसले सामान्य नागरिकको दैनिकी र सीमापार किनमेलमा नकारात्मक असर पार्ने भन्दै निर्णयप्रति असन्तुष्टि जनाइएको छ ।

नेपाल–भारतबीचको सम्बन्ध पारस्परिक, ऐतिहासिक र सनातन प्रकृतिको रहेको उल्लेख गर्दै ठाकुरले नागरिकको दैनिक उपभोगसँग जोडिएका विषयमा लगाइएका यस्ता बन्देजहरू शीघ्र खारेज गर्न सरकारसँग माग गरेका छन् ।