जनकपुरधाम, ५ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूको मनपरी शुल्क निर्धारण नियन्त्रण गर्दै सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारमा विशेष ध्यान दिएको जनाएको छ ।

नगर प्रमुख मनोजकुमार साहले शिक्षामा देखिएको असन्तुलन हटाउन उपमहानगर स्पष्ट नीति र कडाइका साथ अघि बढिरहेको बताएका छन् ।

शनिबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ कपिलेश्वरस्थित श्री आधारभूत विद्यालयमा नवनिर्मित चारकोठे पक्की भवनको उद्घाटन कार्यक्रममा बोल्दै मेयर साहले निजी विद्यालयहरूलाई नियमको दायराभित्र ल्याउनुपर्ने आवश्यकता औंल्याए ।

उनले अभिभावकमाथि अनावश्यक आर्थिक भार पार्ने गरी शुल्क निर्धारण गर्न नदिने चेतावनी दिए ।

‘निजी विद्यालयहरूले मनोमानी शुल्क लिने प्रवृत्ति अब सह्य हुँदैन,’ मेयर साहले भने, ‘उपमहानगरले कानुनी व्यवस्था अनुसार शुल्क निर्धारण प्रक्रिया लागू गराउनेछ । यसले अभिभावकलाई राहत मिल्नेछ ।’

उनले अनुमति नै नलिई सञ्चालन भएका तथा लिइएको अनुमति भन्दा माथि कक्षा सञ्चालन गर्ने विद्यालयहरूलाई कडाभन्दा कडा कारबाही गरिने चेतावनी पनि दिए ।

‘शिक्षा क्षेत्रमा अराजकता स्वीकार्य छैन, कानुन विपरीत काम गर्ने जोकोहीलाई कारबाही हुन्छ,’ उनले थपे ।

कार्यक्रममा बोल्दै मेयर साहले सामुदायिक विद्यालयहरूको अवस्था सुधार नगरी समग्र शिक्षा क्षेत्र सुधार सम्भव नरहेको उल्लेख गरे ।

उनले भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षा, दक्ष शिक्षक र आधुनिक शिक्षण पद्धतिमा जोड दिनुपर्ने बताए ।

‘सामुदायिक विद्यालयहरूलाई सक्षम र प्रतिस्पर्धी बनाउनु हाम्रो प्राथमिकता हो,’ उनले भने, ‘विद्यार्थी र अभिभावकको विश्वास जित्ने वातावरण निर्माण गर्न उपमहानगर प्रतिबद्ध छ ।’

उद्घाटन गरिएको चारकोठे पक्की भवनले विद्यालयको भौतिक संरचना सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

उपमहानगरपालिकाले आगामी दिनमा पनि शिक्षा क्षेत्रमा सुधारका विभिन्न कार्यक्रम अघि बढाउने जनाएको छ ।

निजी र सामुदायिक विद्यालयबीच सन्तुलन कायम गर्दै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने लक्ष्यसहित योजना कार्यान्वयनमा ल्याइने मेयर साहले जानकारी दिए ।

कार्यक्रममा उपप्रमुख किशोरी साह, वडाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।