सिरहा, ५ बैशाख । सिरहाको गोलबजार नगरपालिका–८ स्थित जनता माध्यमिक विद्यालय चन्द्रालपुरले ठूलो संख्यामा शिक्षक तथा कर्मचारी भर्नाका लागि निकालेको विज्ञापन नगरपालिकाले स्थगित गरिदिएको छ ।

आवश्यक कानुनी प्रक्रिया पूरा नगरी विज्ञापन प्रकाशित गरिएको ठहर गर्दै शिक्षा शाखाले थप प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा शिक्षा शाखा प्रमुख अनन्त पौडेलका अनुसार शिक्षक भर्ना जस्तो संवेदनशील विषयमा नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइसँग अनिवार्य समन्वय तथा अनुमति लिनुपर्ने व्यवस्था छ । तर, विद्यालयले सो प्रावधान उल्लंघन गर्दै एकतर्फी रूपमा विज्ञापन निकालेको पाइएपछि रोक लगाइएको उनले बताए ।

विद्यालयले गत चैत ३० गते एक साते म्याद राखेर १५ जना शिक्षकसहित कार्यालय सहयोगी र बस चालक गरी १७ जनाका लागि आवेदन आह्वान गरेको थियो । तर, आवश्यक स्वीकृति बिना प्रक्रिया अघि बढाइएकाले तत्काल प्रभावबाट विज्ञापन स्थगित गरिएको हो ।

शिक्षा शाखाले विद्यालयसँग ‘कसको अनुमतिमा विज्ञापन निकालिएको हो?’ भन्ने विषयमा लिखित स्पष्टीकरण माग गरेको छ । विद्यालयका प्रधानाध्यापक ब्रह्मदेव सिंहले भने विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार आन्तरिक कार्यविधि पालना गरेर विज्ञापन गरिएको दाबी गरेका छन् ।

उनका अनुसार निजी स्रोतबाट करार वा ज्यालादारीमा राखिने शिक्षकका लागि अनिवार्य रूपमा अध्यापन अनुमतिपत्र आवश्यक नपर्ने व्यवस्था रहेको छ । यद्यपि, प्रचलित शिक्षा नियमावलीले शिक्षण पेशामा संलग्न हुन अध्ययन अनुमतिपत्र अनिवार्य गरेको प्रावधान स्पष्ट रूपमा उल्लेख गर्छ ।

यसअघि पनि सो विद्यालयले प्रक्रिया मिचेर व्यक्तिगत प्रभावमा शिक्षक तथा कर्मचारी नियुक्त गरेको आरोप लाग्दै आएको थियो ।

स्थानीयवासीले पुराना व्यक्तिहरूलाई मिलाउनकै लागि नयाँ विज्ञापन निकालिएको हुनसक्ने आशंका गरेका छन् ।

प्रधानाध्यापक सिंहले भने नगरपालिकासँग छलफल गरेर आगामी कदम चालिने बताएका छन् । ‘हामीले कार्यविधिअनुसार नै काम गरेका हौं, अब बिदापछि नगरपालिकासँग समन्वय गरेर अगाडि बढ्छौं,’ उनले भने ।