त्रिभुवन आर्मी अपराजित रहँदै पीएम कपको च्याम्पियन

पर्सा, ४ बैशाख । त्रिभुवन आर्मी क्लबले अपराजित यात्रा कायम राख्दै प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
शुक्रबार वीरगन्जमा सम्पन्न फाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गर्दै तेस्रो पटक उपाधि हात पारेको हो ।
सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।
लक्ष्य पछ्याउने क्रममा आर्मी सुरुमै दबाबमा परेको थियो । ५६ रनमै ४ विकेट गुमाए पनि इमरान शेख र बसिर अहमदले उत्कृष्ट पुनरागमन गर्दै टोलीलाई जिततर्फ डोर्याए ।
इमरान शेख ४६ रनमा अविजित रहे भने बसिर अहमदले ४५ रनको महत्वपूर्ण पारी खेले । दुवैले पाँचौं विकेटका लागि ९६ रनको साझेदारी गर्दै खेलको दिशा बदलिदिएका थिए ।
सुदूरपश्चिमका लागि हेमन्त धामीले २ विकेट लिए भने शेर मल्ल, अशोक धामी र विकास आग्रीले १–१ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३९.४ ओभरमा १६१ रनमै अलआउट भएको थियो । टोलीका तर्फबाट अशोक धामीले सर्वाधिक ४३ रन बनाए ।
किरण ठगुन्नाले २५ र नारायण जोशीले २९ रनको योगदान दिए । मध्यक्रम र शीर्षक्रम असफल भए पनि तल्लोक्रमले केही हदसम्म इनिङ सम्हालेको थियो ।
आर्मीका बलर आकाश चन्द र शाहब आलमले समान ३–३ विकेट लिए भने बसिर अहमदले २ र कुशल मल्लले १ विकेट लिए ।
आर्मीले प्रतियोगिताभर अपराजित रहँदै ९ खेलमध्ये ८ जित र १ खेलमा अंक बाँड्दै फाइनल यात्रा तय गरेको थियो ।
सुदूरपश्चिम भने ९ खेलमध्ये ६ जितसहित पहिलो पटक फाइनल पुगेको हो ।
यससँगै आर्मीले सन् २०१७ र २०२१ पछि तेस्रो पटक प्रधानमन्त्री कपको उपाधि आफ्नो नाममा लेखाएको छ ।
प्रतियोगिताको इतिहासमा नेपाल पुलिस क्लबले ४ पटक र एपीएफ क्लबले २ पटक उपाधि जितेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


