भारतको विकास सहयोग मधेशमा तीव्र, ६१ आयोजना सम्पन्न, २८ निर्माणाधीन

जनकपुरधाम, ४ बैशाख । भारत सरकारले मधेश प्रदेशमा विभिन्न विकास क्षेत्रमा कुल ८९ वटा परियोजना सञ्चालन गरिरहेको जनाएको छ । तीमध्ये २१ वटा परियोजना धनुषा जिल्लामा मात्रै केन्द्रित रहेका छन् ।
शिक्षा, स्वास्थ्य, सडक, पुलदेखि लिएर विद्युतीकरण, सिँचाइ र सांस्कृतिक पूर्वाधारसम्मका क्षेत्रमा भारतीय सहयोग विस्तार भइरहेको भारतीय पक्षले जनाएको हो ।
पर्साको वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवी सहाय मीना धनुषाको बटेश्वर गाउँपालिका–३ स्थित श्री जनशक्ति माध्यमिक विद्यालयमा करिब ४ करोड २० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको विद्यालय भवनको शिलान्यास समारोहमा बोल्दै भारत–नेपाल विकास साझेदारीबारे विस्तृत जानकारी दिएका हुन् ।
महावाणिज्य दूत मीनाका अनुसार मधेश प्रदेशमा स्वीकृत ८९ परियोजनामध्ये हालसम्म ६१ वटा सम्पन्न भइसकेका छन् भने २८ वटा परियोजना विभिन्न चरणमा निर्माणाधीन अवस्थामा रहेका छन् ।
उनका अनुसार ती परियोजनामध्ये सबैभन्दा ठूलो हिस्सा शिक्षा क्षेत्रमा रहेको छ । यहाँ ५४ वटा परियोजना कार्यान्वयनमा छन् । त्यसपछि स्वास्थ्य क्षेत्रमा ७, सडक तथा पुल पूर्वाधारमा ८, संस्कृति क्षेत्रमा ३, विद्युतीकरणमा ५, सिँचाइमा २ र नदी तटबन्धसँग सम्बन्धित १ परियोजना रहेका छन् । बाँकी ९ वटा परियोजना अन्य विविध क्षेत्रसँग सम्बन्धित रहेको उनले जानकारी दिए ।
ती ८९ परियोजनामध्ये २१ वटा परियोजना धनुषा जिल्लामा मात्र केन्द्रित रहेको बताइएको छ । तीमध्ये १३ वटा सम्पन्न भइसकेका छन् भने ८ वटा परियोजनाको काम अहिले जारी रहेको छ ।
यसका अतिरिक्त भारत सरकारले मधेश प्रदेशमा हालसम्म २३२ वटा एम्बुलेन्स र ४० वटा स्कुल बस सहयोगस्वरूप उपलब्ध गराएको जनाएको छ । तीमध्ये धनुषा जिल्लालाई मात्रै ४६ एम्बुलेन्स र ११ स्कुल बस प्रदान गरिएको तथ्यांक सार्वजनिक गरिएको छ ।
बटेश्वर गाउँपालिका–३ मा शिलान्यास गरिएको श्री जनशक्ति माध्यमिक विद्यालयको भवन भारत सरकारको एचआइसिडिपी (High Impact Community Development Project) कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको हो ।
उक्त भवन निर्माणमा भारत सरकारको तर्फबाट करिब ३ करोड ४५ लाख रुपैयाँ लगानी हुनेछ भने बटेश्वर गाउँपालिकाले १८ लाख रुपैयाँ साझेदारी गर्नेछ ।
कार्यक्रममा बोल्दै महावाणिज्य दूत मीनाले नेपाल र भारतबीचको विकास साझेदारी बहुआयामिक र दीर्घकालीन प्रकृतिको रहेको बताए । उनले यी परियोजनाहरूले स्थानीय तहमा शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासमा प्रत्यक्ष प्रभाव पारिरहेको उल्लेख गर्दै दुई देशबीचको जनस्तरको सम्बन्ध अझ मजबुत बनाइरहेको धारणा व्यक्त गरे ।
स्थानीय सरकारका प्रतिनिधिहरूले पनि भारत सरकारको सहयोगले मधेश प्रदेशमा शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा उल्लेखनीय सुधार हुँदै गएको बताए । उनीहरूले यस्ता परियोजनाले ग्रामीण क्षेत्रको समुचित विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
विशेषगरी विद्यालय भवन निर्माण, एम्बुलेन्स तथा स्कुल बस सहयोगजस्ता कार्यक्रमहरूले ग्रामीण तहमा सेवा पहुँच विस्तार भएको देखिएको छ । स्थानीय तहका अनुसार यस्ता परियोजनाहरूले शिक्षा तथा स्वास्थ्य सेवामा प्रत्यक्ष प्रभाव पार्दै जनजीवन सहज बनाइरहेका छन् ।





तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


