जनकपुरधाम, ४ बैशाख । जानकी नवमीको अवसर पारेर ‘नवयुगी सिया’ शीर्षकमा बहुभाषिक कविता गोष्ठी तथा पुस्तक संवाद कार्यक्रम आयोजना हुने भएको छ ।

कार्यक्रम काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजना हुने आयोजक वैदेही मिडियाले जनाएको छ ।

आयोजकका अनुसार गतवर्ष सफल रूपमा सम्पन्न भएको कार्यक्रमप्रति देखिएको उत्साह र चासोलाई मध्यनजर गर्दै यस वर्ष दोस्रो संस्करणको तयारी अघि बढाइएको हो ।

कार्यक्रममार्फत विशेषगरी तराई–मधेशका विभिन्न मातृभाषालाई प्राथमिकता दिँदै बहुभाषिक साहित्यिक वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ ।

यस कार्यक्रममा युवा कवि तथा साहित्यकारलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ भने वरिष्ठ स्रष्टाहरूका कालजयी रचनासमेत प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ ।

कविता वाचनमा सहभागी हुन इच्छुक स्रष्टाहरूलाई आफ्नो परिचय उपलब्ध गराउन आग्रह गरिएको छ । इच्छुकहरूले सार्वजनिक रूपमा टिप्पणीमार्फत वा निजी सन्देशमार्फत आफ्नो विवरण पठाउन सक्नेछन् ।

आयोजकले बहुभाषिक सहभागितालाई जोड दिँदै मधेशका विभिन्न मातृभाषाको संरक्षण र प्रवर्द्धनमा कार्यक्रमले टेवा पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।