जनकपुरधाम, ४ बैशाख । धनुषा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य मनिष झाले शुक्रबार जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयको अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा सेवाग्राहीसँग संवाद गर्दै उनले कार्यालयको सेवा प्रवाह, कर्मचारीको कार्यशैली तथा बिचौलियाको चलखेलबारे चासो व्यक्त गरे ।

अचानक गरिएको अनुगमनका बेला कार्यालय परिसरमा रहेक बिचौलियाहरू भागाभाग भएको प्रत्यक्षदर्शीहरूले बताए ।

सेवाग्राहीहरूका अनुसार सामान्य कामका लागि पनि अतिरिक्त रकम असुल्ने र अनावश्यक झन्झट सिर्जना गर्ने बिचौलियाहरूको प्रभाव लामो समयदेखि रहँदै आएको छ ।

सांसद झाले सेवा प्रवाहमा देखिएको विकृति तत्काल अन्त्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

‘सर्वसाधारणले सहज रूपमा सेवा पाउनुपर्ने ठाउँमा बिचौलियाको दबदबा हुनु गम्भीर विषय हो,’ उनले भने, ‘यस्ता गतिविधि नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने अवस्था आएको छ ।’

उनले कर्मचारीलाई पारदर्शी र जिम्मेवार ढंगले काम गर्न आग्रह गर्दै सेवाग्राहीलाई कुनै समस्या परे प्रत्यक्ष रूपमा जानकारी गराउन पनि अनुरोध गरे ।

साथै, नियमित रूपमा अनुगमनलाई निरन्तरता दिने र सुधार नभए थप कडा कदम चाल्ने चेतावनी समेत उनले दिएका छन् ।