जनकपुरधाम, ४ बैशाख । धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित बाँसघारीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मृतक सोही वडाका करिब ६० वर्षीय जगतबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

स्थानीय जगदीश रविदासको बाँसघारीमा शुक्रबार बिहान करिब ९ बजे उनको शव फेला परेको हो ।

परिवारका अनुसार थापा बुधबार साँझदेखि नै घरबाट बेपत्ता भएका थिए । उनका छोरा अमित थापाले बुबाले हराउनु अघि मादक पदार्थ सेवन गरेको बताए ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट खटिएको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।

प्रहरी निरीक्षक राजाराम यादवका अनुसार प्रारम्भिक अनुसन्धानबाट अत्यधिक मादक पदार्थ सेवनका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।