जनकपुरधाम उपमहानगरपालिकाद्वारा संस्थागत विद्यालयलाई विवरण पेश गर्न निर्देशन

जनकपुरधाम, ४ बैशाख । जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सबै संस्थागत विद्यालयलाई आवश्यक शैक्षिक तथा प्रशासनिक विवरण ७ दिनभित्र पेश गर्न निर्देशन दिएको छ ।
नगर कार्यपालिकाको कार्यालयअन्तर्गत शिक्षा, युवा तथा खेलकुद विकास शाखाले सूचना जारी गर्दै नगर शिक्षा समितिको चैत ३० गतेको निर्णयअनुसार विद्यालयहरुलाई आवश्यक कागजातसहित विवरण बुझाउन आग्रह गरेको हो ।
सूचनाअनुसार विद्यालयहरुले विद्यालय वर्गीकरण, शुल्क निर्धारण तथा शैक्षिक सत्र २०८३ का लागि लागु गरिने सम्पूर्ण शुल्क विवरण पेश गर्नुपर्नेछ ।
विद्यालय वर्गीकरण गर्दा संस्थागत विद्यालय मापदण्ड निर्देशिका–२०६१ तथा विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि–२०८१ अनुसार कुन वर्गमा विद्यालय पर्छ भन्ने स्पष्ट आधार खुलाउनुपर्ने बताइएको छ ।
त्यस्तै, कक्षा १ देखि १२ सम्म अध्ययन अध्यापन गराइने पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सिकाइ सामग्रीको विस्तृत सूची पनि पब्लिकेशनको नाम र ठेगानासहित बुझाउनुपर्नेछ ।
उपमहानगरपालिकाले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र विवरण नबुझाए आवश्यक कारबाही अघि बढाइने चेतावनीसमेत दिएको छ ।
शाखा प्रमुख अन्जु पाण्डेयद्वारा जारी सूचनामा विद्यालयहरुको शुल्क व्यवस्थापन र शैक्षिक सामग्रीमा पारदर्शिता कायम गर्न यस्तो कदम चालिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


