काठमाडौं, ३ बैशाख । नेपाली कांग्रेसकी समानुपातिक सांसद निनु कर्णले मधेश प्रदेशमा देखिएका बहुआयामिक समस्याप्रति संघीय सरकारको ध्यानाकर्षण गराएकी छन् ।

उनले आफू समानुपातिक प्रतिनिधित्वमार्फत संघीय संसदमा पुगेको उल्लेख गर्दै प्रत्यक्ष र समानुपातिक सांसदबीच कुनै प्रकारको विभेद नगर्न सरकारसँग आग्रह गरिन् ।

प्रधानमन्त्रीलाई ‘राष्ट्रको अभिभावक’ भन्दै सम्बोधन गरेकी सांसद कर्णले मधेश प्रदेशमा खानेपानी संकट, सीमा क्षेत्रमा हुने कर तथा प्रशासनिक अवरोध, लागूऔषध दुर्व्यसन, महिला तथा किशोरीमाथि हुने हिंसा, ट्राफिक अव्यवस्था तथा दहेज प्रथाजस्ता सामाजिक विकृतिहरू गम्भीर चुनौतीका रूपमा रहेको बताइन् ।

उनले विशेषगरी गर्मी याम सुरु भएसँगै मधेशमा खानेपानीको समस्या विकराल बन्ने गरेको उल्लेख गर्दै चुरे क्षेत्रको वन विनाश, भू-जल स्रोतको क्षय तथा अव्यवस्थित वन उपयोगका कारण समस्या झनै बढिरहेको दाबी गरिन् । तत्काल समाधानका लागि दीर्घकालीन नीति आवश्यक रहेको उनको भनाइ थियो ।

सीमा क्षेत्रमा घरायसी सामग्री खरिदमा सर्वसाधारणलाई करको नाममा भइरहेको अवरोधले जनजीवन प्रभावित भएको उल्लेख गर्दै उनले सम्बन्धित निकायलाई तत्काल समस्या समाधान गर्न आग्रह गरिन् ।

त्यस्तै, सडक तथा यातायात व्यवस्थापनमा देखिएको लापरबाहीप्रति चिन्ता व्यक्त गर्दै उनले विद्यालय तहका बालबालिकाले समेत सवारी साधन चलाउने, ट्राफिक नियमको उल्लंघन, ओभरलोड र तीव्र गतिका कारण दुर्घटना बढिरहेको बताइन् । सवारी अनुमति प्रणालीमा कडाइ गर्न उनले सरकारसँग माग गरिन् ।

विद्यालय तथा क्याम्पसहरूमा लागूऔषध दुर्व्यसन बढ्दै गएकोप्रति पनि उनले गम्भीर चिन्ता व्यक्त गर्दै यसले समाजमा हिंसात्मक घटना वृद्धि गरिरहेको उल्लेख गरिन् । साथै, छात्राहरूका लागि विद्यालयमा सुरक्षित शौचालयको अभाव रहेको विषय पनि उनले उठाइन् ।

त्यसैगरी, आमाको नामबाट नागरिकता प्राप्तिमा अझै पनि मधेशमा समस्या रहेको उल्लेख गर्दै उनले नीतिगत सुधार आवश्यक रहेको धारणा राखिन् ।

उनले सामाजिक विकृति अन्त्य गर्दै नैतिक, संस्कारयुक्त र मानवतामूलक समाज निर्माणमा राज्यको सहयोग अपरिहार्य रहेको बताउँदै सरकारसँग प्रभावकारी पहलको अपेक्षा व्यक्त गरिन् ।