प्रधानमन्त्री बालेन शाह र प्रदेशका मुख्यमन्त्रीहरूबीच साढे २ घण्टा छलफल

काठमाडौं, ३ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विस्तृत छलफल गरेका छन् ।
साढे दुई घण्टासम्म चलेको उक्त छलफलमा संघीय संरचनाअन्तर्गतका समस्या, कार्यसम्पादन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जानकारी दिएका छन् ।
मुख्यमन्त्री बानियाँका अनुसार प्रधानमन्त्री शाहले छलफलको क्रममा धैर्यपूर्वक सबै प्रदेशका मुख्यमन्त्रीका धारणा सुनेका थिए ।
‘छलफल दुई घण्टा भनिएको थियो । तर, प्रधानमन्त्रीले त्योभन्दा बढी समय लिएर हामी सबैका कुरा ध्यानपूर्वक सुन्नुभयो,’ उनले बताए ।
उनका अनुसार मुख्यमन्त्रीहरूको धारणा सुनेपछि प्रधानमन्त्री शाहले संक्षेपमा आफ्ना धारणा राख्दै नागरिकका अपेक्षा पूरा गर्न संघ र प्रदेश सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका थिए ।
छलफलमा कोशी र सुदूरपश्चिम प्रदेशबाहेकका मुख्यमन्त्रीहरूको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


