सिरहामा भूपू सैनिक सम्मेलन सम्पन्न

सिरहा, ३ बैशाख । सिरहाको चोहर्वा ब्यारेकमा भूपू सैनिक सम्मेलन सम्पन्न भएको छ ।
‘भूपू सैनिकको पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल नाराका साथ आयोजित उक्त सम्मेलनले पूर्वसैनिकहरूको एकता र सामाजिक सुरक्षामा जोड दिएको छ ।
श्री नन्दाबक्स गण उपसम्मेलन केन्द्रमा बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा सिरहा र सप्तरी जिल्लाका करिब ४८० जना पेन्सनभोगी भूपू सैनिक तथा उनीहरूका आश्रित परिवारको सहभागिता रहेको थियो ।
कार्यक्रम श्री नं. २७ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी नारायण बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
सम्मेलनका क्रममा सहभागी हिताधिकारीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । कार्यक्रममा उनीहरूका समस्या, सुझाव र अपेक्षाबारे विचार विमर्श गरिएको थियो ।
यसैबीच, मुख्य सम्मेलन केन्द्र श्री मध्य पूर्वी पृतना हेडक्वार्टरमा आयोजित कार्यक्रमबाट प्रधानसेनापति महारथी अशोक राज सिग्देलले दिएको सम्बोधन Live Multicast मार्फत चोहर्वा ब्यारेकमा रहेका सहभागीहरूलाई प्रत्यक्ष अवलोकन गराइएको थियो ।
कार्यक्रमकै अवसरमा अशक्त भूपू सैनिक तथा आश्रित परिवारलाई ४ थान ह्विलचियर, १ थान बैशाखी र १ थान ब्लाइन्ड स्टिक वितरण गरिएको छ । साथै, सैनिक कल्याणकारी निर्देशनालयबाट प्राप्त अन्य सहयोग सामग्रीहरू समेत सम्बन्धित लाभग्राहीहरूलाई हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।
सम्मेलनले पूर्वसैनिकहरूको हकहित संरक्षण, आपसी सम्बन्ध सुदृढीकरण तथा कल्याणकारी कार्यक्रमलाई प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण सन्देश दिएको आयोजकको भनाइ छ ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


