जनकपुरधाममा जानकी जन्मोत्सवको तयारी तीव्र, भव्य कार्यक्रमसहित मनाइने

जनकपुरधाम, ३ बैशाख । प्राचीन धार्मिक नगरी जनकपुरधामस्थित जानकी मन्दिरमा यस वर्ष पनि भव्यताका साथ जानकी जन्म महामहोत्सव २०८३ मनाइने भएको छ ।
वैशाख ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने यस महोत्सवमा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन् ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास श्रीवैष्णवले महोत्सवको सन्दर्भमा भने, ‘यो महोत्सव धार्मिक अनुष्ठान मात्र नभई मिथिलाको सांस्कृतिक पहिचान, आस्था र सामाजिक एकताको प्रतीक हो । सम्पूर्ण श्रद्धालुहरूलाई परिवारसहित उपस्थित भई पुण्य आर्जन गर्न म हार्दिक आग्रह गर्दछु ।’
उनका अनुसार महोत्सव अवधिभर प्रत्येक दिन अपराह्न ४ बजेदेखि मन्दिर प्राङ्गणमा श्री रामकथा वाचन गरिनेछ । त्यसमा स्वदेश तथा विदेशबाट आएका श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहने विश्वास गरिएको छ ।
त्यसैगरी प्रत्येक दिन साँझ ७ बजेदेखि मन्दिरको गर्भगृहमा जन्म बधाई गान तथा सांस्कृतिक कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ ।
महन्थ दासले विशेष गरी युवापुस्तालाई लक्षित गर्दै भने, ‘हामी नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग जोड्ने प्रयास गरिरहेका छौँ । त्यसैले सांस्कृतिक कार्यक्रममा युवाहरूको सहभागितामा विशेष ध्यान दिइएको छ ।’
महोत्सवको अर्को प्रमुख आकर्षणका रूपमा अखण्ड रामायण पाठ मन्दिर प्राङ्गणमा निरन्तर सञ्चालन हुनेछ । श्रद्धालुहरूले दिनरात सहभागी भई आध्यात्मिक शान्ति तथा धार्मिक अनुभूति प्राप्त गर्न सक्नेछन् ।
वैशाख १२ गते शनिबार महोत्सवको मुख्य दिन विशेष कार्यक्रमसहित मनाइनेछ ।
बिहान ५:३० बजेदेखि दुधमती शाही स्नानका लागि भव्य शोभायात्रा जानकी घाटतर्फ प्रस्थान गर्नेछ । त्यसपछि दिउँसो १२ बजे जन्म आरती तथा बधाई गानको विशेष कार्यक्रम आयोजना गरिनेछ ।
त्यसै दिन अपराह्न ४ बजेदेखि जानकी मन्दिरबाट डोला शोभायात्रा निकालिनेछ । शोभायात्रामा परम्परागत बाजागाजा, झाँकी तथा धार्मिक प्रस्तुतीहरूले विशेष आकर्षण थप्नेछन् । साँझ ७:३० बजेदेखि विशेष आरती तथा दीपोत्सव आयोजना गरिनेछ ।
महन्थ दासले भने, ‘यस महोत्सवले समाजमा सकारात्मक ऊर्जा, आपसी सद्भाव र धार्मिक सहिष्णुताको सन्देश प्रवाह गर्छ । यस्ता कार्यक्रमहरूले जनकपुरधामको गरिमा अझ उच्च बनाउनेछन् ।’
महोत्सवलाई व्यवस्थित र सफल बनाउन सुरक्षा, सरसफाइ, यातायात व्यवस्थापन तथा श्रद्धालुहरूको सुविधालाई ध्यानमा राखेर आवश्यक तयारी तीव्र पारिएको छ ।
स्थानीयवासीहरूमा पनि यस महोत्सवप्रति उल्लेखनीय उत्साह देखिएको छ । उनीहरूका अनुसार यस्ता धार्मिक तथा सांस्कृतिक पर्वहरूले मिथिलाको ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


