जनकपुरधाम, ३ बैशाख । उपसभामुख रुबी कुमारी ठाकुरले मधेशको आवाजलाई सशक्त बनाउने उद्देश्यसहित पहिलोपटक संसदीय दल निर्माण गर्ने ऐतिहासिक पहल अघि सारेकी छन् ।

उनले यो कदमलाई राजनीतिक शुरुवात मात्र नभई मधेशका जनताको अधिकार, सम्मान र पहिचान सुनिश्चित गर्ने दीर्घकालीन प्रतिबद्धताको रूपमा प्रस्तुत गरेकी छन् ।

उपसभामुख ठाकुरले सार्वजनिक रूपमा जारी गरेको सन्देशमा मधेशका मुद्दाहरू वर्षौंदेखि उपेक्षित हुँदै आएको उल्लेख गर्दै अब त्यसलाई संस्थागत रूपमा उठान गर्ने समय आएको बताएकी छन् ।

‘यो पार्टी सत्ताको लागि मात्र नभई सेवा र जनताको भरोसालाई व्यवहारमा रूपान्तरण गर्ने अभियान हो,’ उनले भनिन् ।

उनका अनुसार नवगठित संसदीय दलले मधेशका नागरिकहरूको समान अधिकार, सामाजिक न्याय र समावेशीतालाई प्राथमिकतामा राख्दै नीति निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्नेछ ।

उनले मधेशको पहिचान र सम्मानलाई स्थापित गर्न सबै राजनीतिक तथा सामाजिक शक्तिहरूलाई एकजुट हुन पनि आह्वान गरेकी छन् ।

ठाकुरले मधेशमा नयाँ सोच, नयाँ नेतृत्व र जिम्मेवार राजनीतिक संस्कारको खाँचो औंल्याउँदै यस अभियानमा आम नागरिकको सहभागिता आवश्यक रहेको धारणा राखिन् ।

‘हामीले नेतृत्व परिवर्तन मात्र नभई सोच र कार्यशैलीमा पनि परिवर्तन ल्याउनुपर्छ,’ उनले जोड दिइन् ।

मधेश प्रदेशमा पछिल्लो समय विकास, समावेशिता र सुशासनका विषयमा बहस तीव्र भइरहेका बेला यस्तो पहललाई अर्थपूर्ण कदमका रूपमा हेरिएको छ ।

उपसभामुख ठाकुरले सबै मधेशवासीलाई एकजुट भई साझा लक्ष्यतर्फ अघि बढ्न आग्रह गर्दै भनिन्, ‘मधेशको सम्मान नै हाम्रो पहिचान हो । यसलाई जोगाउने र उचाइमा पुर्‍याउने जिम्मेवारी हामी सबैको हो ।’