भूपू मेयर स्व. मिश्रका नाती कौशल मिश्रको नेतृत्वमा स्थानीय युवाको उदाहरणीय काम

जनकपुरधाम, ३ बैशाख । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-४ कटैया चौरीस्थित मटकोरबा पोखरी आसपास क्षेत्र चार वर्षदेखि अन्धकारमा डुबेको थियो ।
पटकपटक जनप्रतिनिधिलाई जानकारी गराउँदा पनि कुनै पहल नदेखिएपछि अन्ततः स्थानीय युवाहरू आफैं सक्रिय भएर समस्या समाधानमा जुटेका छन् ।
भूपू मेयर स्व. राजदेव मिश्रका नाती कौशल मिश्रको नेतृत्वमा स्थानीय युवाहरूले आपसी सहयोगमा चन्दा संकलन गरी बिग्रिएको स्ट्रीट लाइट मर्मत गरेर पुनः सञ्चालनमा ल्याएका हुन् । यस पहलले वर्षौंदेखि अन्धकारमा बस्न बाध्य स्थानीयवासीलाई ठूलो राहत मिलेको छ ।
स्थानीयका अनुसार मटकोरबा पोखरी नजिक प्रकाश मिश्रको घर आसपास क्षेत्रमा रहेको बत्ती करिब चार वर्षदेखि बिग्रिएको अवस्थामा थियो । वडाध्यक्षदेखि मेयरसम्म पटकपटक जानकारी गराउँदा पनि समस्या समाधानतर्फ कुनै चासो नदिइएको गुनासो उनीहरूले गरेका छन् ।
‘जनप्रतिनिधिहरूलाई धेरै पटक भने पनि कसैले ध्यान दिएनन्, अन्ततः हामी आफैंले पैसा उठाएर लाइट जडान गर्यौं,’ एक स्थानीयले भने ।
युवाहरूको यस अभियानमा कौशल मिश्रले अग्रसरता लिँदै साथीभाइसँग समन्वय गरी आवश्यक रकम संकलन गरेका थिए ।उनीसहितको टोलीले प्राविधिक सहयोग जुटाएर बिग्रिएको लाइट मर्मत गरी पुनः बाल्न सफल भएका हुन् ।
स्थानीयवासीले यस कार्यको खुलेर प्रशंसा गरेका छन् । उनीहरूका अनुसार सानो प्रयासले ठूलो परिवर्तन सम्भव हुन्छ भन्ने उदाहरण युवाहरूले प्रस्तुत गरेका छन् । साथै, जनप्रतिनिधिहरूको निष्क्रियताप्रति असन्तुष्टि समेत व्यक्त गरिएको छ ।
‘यदि हरेक काम हामी आफैंले गर्नुपर्ने हो भने जनप्रतिनिधिहरूको भूमिका के?’ स्थानीयको प्रश्न छ ।
मिश्रको नेतृत्वमा गरिएको यो पहलले समुदायमा सकारात्मक सन्देश दिएको छ । विकासका साना–साना काममा पनि जनप्रतिनिधिको बेवास्ता हुँदा स्थानीय स्तरमै सहकार्य गरेर समाधान खोज्न सकिन्छ भन्ने सन्देश यस घटनाले दिएको छ ।
स्थानीयवासीले भविष्यमा यस्ता आधारभूत समस्यामा ढिलाइ नगर्न आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


