जनकपुरधाम, १ बैशाख । मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले नव वर्ष २०८३ को अवसरमा सम्पूर्ण प्रदेशवासीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।

नव वर्षको पावन अवसरमा जारी सन्देशमार्फत प्रदेश प्रमुख कर्णले सबै नागरिकको जीवनमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको निरन्तर वृद्धि होस् भन्ने कामना व्यक्त गरेका हुन् ।

उनले नयाँ वर्षलाई विगतका अनुभव, उपलब्धि र चुनौतीहरूबाट पाठ सिक्दै सकारात्मक सोच, आत्मविश्वास र सहकार्यका साथ अघि बढ्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन् ।

‘समय निरन्तर परिवर्तनशील छ । यसले हामीलाई जीवनको वास्तविकता र परिवर्तनको महत्व सिकाउँछ,’ उनले सन्देशमा उल्लेख गरेका छन् ।

प्रदेश प्रमुख कर्णले मधेश प्रदेशलाई विविध भाषा, संस्कृति र परम्पराको अनुपम संगमका रूपमा चित्रण गर्दै यस विविधताभित्रको एकता नै प्रदेशको प्रमुख शक्ति भएको उल्लेख गरेका छन् ।

आपसी सम्मान, सहअस्तित्व र सहकार्यलाई अझ मजबुत बनाउँदै शान्त, समावेशी र समृद्ध समाज निर्माण गर्न सबैलाई आह्वान गरिएको छ ।

उनले साना साना सकारात्मक प्रयासहरूले नै ठूलो परिवर्तन सम्भव हुने भन्दै प्रत्येक नागरिकलाई समाज र राष्ट्र निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

उनले नयाँ वर्ष २०८३ ले सबैमा नयाँ ऊर्जा, नवीन सोच र उज्ज्वल भविष्यप्रतिको अटल विश्वास प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।