जनकपुरधाम, १ बैशाख । मधेश प्रदेशमा चार महिनाअघि गठन भएको कृष्णप्रसाद यादव नेतृत्वको सरकारको कार्यसम्पादन अपेक्षाअनुसार अघि नबढेपछि सत्तारुढ गठबन्धनभित्र असन्तुष्टि बढ्न थालेको छ ।

सत्ता साझेदार जनमत पार्टीले सरकारको गति र कार्यशैलीप्रति खुलेर प्रश्न उठाउन थालेको हो ।

हालै काठमाडौंमा बसेको पार्टी सचिवालय बैठकमा मधेश सरकारको कामकाजको विस्तृत समीक्षा गरिएको थियो । बैठकमा सरकार प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको निष्कर्ष निकालिएको जनाइएको छ ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्दै आवश्यक सुधार नभए समर्थनबारे पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षको बजेट कार्यान्वयन कमजोर देखिएको छ भने पुँजीगत खर्चसमेत न्यून रहेको छ । विकास योजनाहरू अघि बढ्न नसकेको र कतिपय आयोजनामा अझैसम्म टेण्डर प्रक्रिया नै सुरु नभएको उनले आरोप लगाए ।

महासचिव सिंहले सरकारले अपेक्षाअनुसार गति लिन नसकेको भन्दै काम गर्ने शैलीमै परिवर्तन आवश्यक रहेको बताए ।

यसअघि नेकपा एमालेका सरोज यादवलाई विवादित प्रक्रियामार्फत मुख्यमन्त्री बनाइएको घटनापछि मधेश प्रदेशको राजनीतिक अवस्था अस्थिर बनेको थियो । त्यसपछि विभिन्न दलहरूको गठबन्धनमार्फत कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन गरिएको हो ।

हाल मधेश प्रदेश सरकारमा कांग्रेस, जनता समाजवादी पार्टी, जनमत पार्टी र नेकपा गरी चार दल सहभागी छन् । जनमत पार्टीले अर्थ तथा सामाजिक विकास र खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छ ।

यता, नयाँ बजेट तयारीको समय नजिकिँदै गर्दा नीति तथा योजना आयोग पनि अपेक्षित रूपमा सक्रिय नभएको आरोप जनमत पक्षले लगाएको छ ।

गठबन्धनको समन्वय र राजनीतिक संस्कृतिअनुसार सरकार अघि नबढेको भन्दै आन्तरिक असन्तुष्टि अझै बढ्ने देखिएको छ ।