जनकपुरधाम, १ बैशाख । धनुषाको शहिदनगर नगरपालिका–६ हठीपुर हडबाडाका निर्वाचित वडाध्यक्ष उमेश निराला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

नयाँ वर्ष २०८३ को अवसरमा आयोजित विशेष कार्यक्रममा पार्टीका प्रवक्ता तथा नेता मनिष झाले निरालालाई पार्टीमा स्वागत गरेका हुन् ।

पार्टीका नेताहरूका अनुसार निरालाजस्ता निर्वाचित जनप्रतिनिधिको सहभागिताले संगठनात्मक संरचना मजबुत हुनुका साथै स्थानीय स्तरमा जनसम्पर्क र प्रभाव विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रममा उपस्थित अन्य नेता तथा कार्यकर्ताहरूले नवप्रवेशी वडाध्यक्षलाई स्वागत गर्दै आगामी दिनमा सहकार्य र संगठन विस्तारमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

वडाध्यक्ष निरालाले आफू जनताको अपेक्षा अनुसार काम गर्दै पार्टीको नीति कार्यक्रमअनुसार स्थानीय तहमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

उनको प्रवेशसँगै शहिदनगर क्षेत्रमा रास्वपाको राजनीतिक गतिविधि थप सशक्त हुने पार्टीका स्थानीय नेताहरूले दाबी गरेका छन् ।