यातायात कार्यालयबाट पाँच जना बिचौलिया पक्राउ

जनकपुरधाम, १ बैशाख । यातायात कार्यालय आसपास क्षेत्रमा सेवाग्राहीलाई झुक्याएर अवैध रुपमा रकम असुल्ने कार्यमा संलग्न रहेको आरोपमा पाँच जना बिचौलियालाई जिल्ला प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार सवारी चालक अनुमति पत्र, सवारी दर्ता तथा अन्य सेवा छिटो गराइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग अनावश्यक शुल्क असुल्ने गतिविधि बढ्दै गएको गुनासोपछि विशेष निगरानी गरिएको थियो ।
सोही क्रममा संलग्न पाँच जनालाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले बिचौलियाको सक्रियता नियन्त्रण गर्न प्रहरी निरन्तर खटिएको बताए ।
उनले भने, ‘यातायात कार्यालय परिसरमा केही व्यक्तिहरूले सेवाग्राहीलाई छिटो काम गराइदिने बहानामा ठगी गर्ने प्रयास गरिरहेको सूचना प्राप्त भएको थियो । सोही आधारमा निगरानी बढाउँदा पाँच जनालाई नियन्त्रणमा लिइएको छ । यस प्रकारका गतिविधि नियन्त्रण गर्न प्रहरी कडाइका साथ अघि बढेको छ ।’
प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ । साथै, सेवाग्राहीलाई कुनै पनि सेवा लिँदा बिचौलियाको भर नपरी सम्बन्धित कार्यालयबाटै प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ ।
यातायात क्षेत्रमा बिचौलियाको चलखेलले सेवाग्राहीलाई आर्थिक नोक्सानी मात्र नभई सेवा प्रणालीमै अविश्वास बढाउने भएकाले यस्ता गतिविधि नियन्त्रण आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।


