जनकपुरधाम, १ बैशाख । मधेश प्रदेशका सभामुख रामअशिष यादवले मातृभाषा हरेक व्यक्तिको पहिचान र संस्कृतिसँग जोडिएको महत्वपूर्ण आधार भएकाले यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।

धनुषाको औरही गाउँपालिकास्थित परवाहा गाउँमा सोमबारदेखि सुरु भएको दुई दिवसीय ‘परवाहा लोक संस्कृति उत्सव’को उद्घाटन गर्दै सभामुख यादवले भाषा र संस्कृतिमाथि कुनै पनि प्रकारको विभाजनकारी प्रयास स्वीकार्य नहुने स्पष्ट पारे ।

उनले केही तत्वहरूले जातीय आधारमा समाजलाई विभाजित गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै आम नागरिक भने आफ्नो भाषा र संस्कृतिप्रति सचेत र प्रतिबद्ध रहेको बताए ।

उनले वर्तमान अवस्थामा मातृभाषाविरुद्ध नकारात्मक धारणा फैलाउने र समाजलाई भ्रमित पार्ने गतिविधिबाट सतर्क रहन सबैलाई आग्रह गरे । ‘भाषा कुनै एक जात वा समुदायको मात्र हुँदैन, यो समग्र भूगोलको पहिचान हो,’ उनले भने ।

सभामुख यादवले भाषा आन्दोलनको ऐतिहासिक सन्दर्भ उल्लेख गर्दै भारतको बंगालमा मातृभाषाको रक्षा गर्न दुई मुस्लिम युवकले जीवन बलिदान दिएको उदाहरण प्रस्तुत गरे । उनले भाषाको संरक्षणका लागि त्याग र प्रतिबद्धताको आवश्यकता औंल्याए ।

उनका अनुसार भाषा, संस्कृति र पहिचान समाजका अमूल्य धरोहर हुन् । यसको संरक्षण, प्रवर्द्धन र विकास आजको प्रमुख आवश्यकता हो । उनले यस्ता सांस्कृतिक उत्सवहरूले स्थानीय परम्परा, कला र भाषालाई जगेर्ना गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्थानीय कलाकारहरूले लोक संस्कृति झल्काउने विभिन्न प्रस्तुति दिएका थिए भने आयोजकले यस्ता उत्सवमार्फत मातृभाषा र संस्कृतिको संरक्षणमा थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेका छन् ।