मिथिलामा सतुवाइन पर्वको उल्लास, सातु खाएर नयाँ वर्षको स्वागत

जनकपुरधाम, १ बैशाख । आज वैशाख १ गते मिथिला क्षेत्रमा परम्परागत रूपमा मनाइने सतुवाइन पर्व उल्लासका साथ मनाइएको छ ।
नयाँ वर्षको पहिलो दिनलाई विशेष महत्व दिँदै यहाँका बासिन्दाहरूले सातु खाएर वर्षको सुरुआत गर्ने पुरानो सांस्कृतिक परम्परा कायम राखेका छन् ।
मिथिला क्षेत्रमा सतुवाइन पर्व नयाँ वर्षको स्वागतसँग प्रत्यक्ष रूपमा जोडिएको छ । यस दिन प्रत्येक घरमा चना, मकै, जौ, भटमासलगायत अन्नलाई भुटेर पिँधेर तयार पारिएको सातु खाने चलन रहेको छ ।
वरिष्ठ पत्रकार रामभरत साहका अनुसार सतुवाइन पर्वले खानपानको परम्परा मात्र नभई स्वास्थ्य, संस्कार र सामाजिक सम्बन्धलाई समेत जोड्ने काम गर्छ । सातुले शरीरलाई शीतलता प्रदान गर्ने, वर्षभरि स्वस्थ रहन सहयोग गर्ने र आपसी सम्बन्ध सुदृढ बनाउने विश्वास रहेको उनले बताए ।
आजका दिन मिथिला क्षेत्रका घरघरमा परिवारका सबै सदस्यले अन्य परिकार खानुअघि सबैभन्दा पहिले सातु खाने चलन छ । सातुलाई चिनी, सख्खर वा नुनसँग मिसाएर स्वादअनुसार खाने प्रचलन पनि रहेको छ ।
स्थानीयवासीका अनुसार सतुवाइन पर्वले मिथिलाको मौलिक संस्कृति र पहिचानलाई जगेर्ना गर्दै पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । आधुनिक जीवनशैलीका बीच पनि यो परम्परा निरन्तरता पाउँदै जानु सांस्कृतिक संरक्षणका दृष्टिले सकारात्मक मानिएको छ ।


