नयाँ वर्षमा जनकपुरधाममा भक्तजनको ओइरो

जनकपुरधाम, १ बैशाख । मधेश प्रदेशको धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाममा नयाँ वर्ष २०८३ को अवसरमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड देखिएको छ ।
नयाँ वर्षको पहिलो दिनलाई शुभारम्भको प्रतीकका रूपमा मनाउँदै नेपालका विभिन्न जिल्ला तथा छिमेकी देश भारतबाट हजारौं भक्तजन जनकपुरधाम पुगेका हुन् ।
जानकी मन्दिर लगायतका प्रमुख धार्मिक स्थलहरूमा बिहानैदेखि दर्शन र पूजाआजाका लागि भक्तजनहरूको घुइँचो लागेको थियो । मन्दिर परिसरमा दिनभरजसो धार्मिक गतिविधि र भक्तजनहरूको चहलपहल बढेको देखिएको छ ।
वर्षको पहिलो दिन भगवानको दर्शन गरी सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा अनुसार भक्तजनहरू उत्साहपूर्वक पूजा–आराधनामा सहभागी भएका थिए । यस अवसरमा जनकपुरधामका अन्य मठमन्दिर तथा धार्मिक स्थलहरूमा पनि उस्तै भीड देखिएको स्थानीयले बताएका छन् ।
नयाँ वर्षका अवसरमा धार्मिक स्थलहरूमा दर्शन गर्ने परम्पराले धार्मिक पर्यटनलाई समेत टेवा पुर्याएको छ । माता सीताको जन्मस्थलका रूपमा परिचित जनकपुरधाममा नयाँ वर्ष, रामनवमी तथा विवाह पञ्चमी जस्ता पर्वहरूमा विशेष गरी पर्यटकको आगमन बढ्ने गर्दछ ।
यस वर्ष पनि पर्यटकको चापसँगै होटल, धर्मशाला तथा यातायात क्षेत्रमा उल्लेखनीय भीडभाड बढेको स्थानीय व्यवसायीहरूले बताएका छन् । बढ्दो आन्तरिक तथा भारतीय पर्यटक आगमनले होटल व्यवसाय, यातायात सेवा र साना व्यवसायहरूमा समेत सकारात्मक प्रभाव पारेको छ ।
पर्यटकहरूको भीडसँगै जनकपुरधामको आर्थिक गतिविधि चलायमान बनेको छ भने स्थानीय बजारमा समेत चहलपहल बढेको छ । धार्मिक पर्यटनले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष योगदान पु¥याएको सरोकारवालाहरूको भनाइ छ ।
उता, सम्भावित भीडलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्थालाई कडाइका साथ लागू गरेको जनाएको छ । साथै सरसफाइ, भीड व्यवस्थापन तथा यातायात सहजताका लागि विशेष व्यवस्था मिलाइएको प्रशासनले जानकारी दिएको छ ।
नयाँ वर्षको अवसरमा जनकपुरधाममा देखिएको भक्तजनहरूको उत्साहजनक उपस्थिति र व्यवस्थापनले यस क्षेत्रलाई अझ प्रभावकारी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।





