जनकपुरधाम, ३० चैत । स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा जनकपुरधाम उपमहानगरपालिका–४ मा युवा नेतृत्वको बहस तीव्र बन्दै गएको छ ।

यही सन्दर्भमा वडा नं. ४ का स्थानीय युवा कौशल मिश्रले आफूलाई जनताको सेवकका रूपमा प्रस्तुत गर्दै समग्र विकासका एजेन्डासहित अघि आएका छन् ।

मिश्रले आफू कुनै ठूला राजनीतिक व्यक्तित्वको रूपमा नभई घरटोलकै छोराको रूपमा जनताको सेवामा समर्पित हुन चाहेको बताए । उनले वडाभित्र विद्यमान समस्याहरूलाई स्पष्ट रूपमा औंल्याउँदै समाधानका लागि सामूहिक पहल आवश्यक रहेको धारणा राखे ।

मिश्रका अनुसार महावीर चौकमा ट्राफिक व्यवस्थापन र वर्षायाममा पानी जम्ने समस्या, कदम चौकमा नाला तथा सरसफाइको अभाव, आनन्द नगरमा भित्री सडक र स्ट्रीट लाइटको समस्या लगायतका विषयले स्थानीय बासिन्दा दैनिक रूपमा प्रभावित भइरहेका छन् ।

‘यी समस्या कुनै एक व्यक्तिले मात्र समाधान गर्ने काम नभई प्रभावकारी नेतृत्व र जनसहभागिताबाट अवश्य समाधान गर्न सकिन्छ,’ उनले भने ।

उनले वडा अध्यक्षको जिम्मेवारी पाए पहिलो प्राथमिकतामा भित्री सडक निर्माणलाई राख्ने प्रतिबद्धता जनाए । साथै, प्रत्येक टोलमा ढल तथा पानी निकासको दीर्घकालीन समाधान गर्ने, LED स्ट्रीट लाइटमार्फत गल्लीहरू उज्यालो बनाउने तथा फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउने योजना रहेको उनले बताए ।

युवा लक्षित कार्यक्रमहरूलाई समेत प्राथमिकतामा राख्दै मिश्रले सीपमूलक तालिम र रोजगारका अवसर सिर्जना गर्ने उल्लेख गरे ।

‘युवाहरूलाई अवसर दिन सके मात्रै दीगो विकास सम्भव हुन्छ,’ उनको भनाइ छ ।

त्यसैगरी, आमा दिदीबहिनीहरूको सम्मान र सुरक्षालाई पहिलो प्राथमिकता दिने, ज्येष्ठ नागरिकहरूको सेवा सुविधामा विशेष ध्यान दिने प्रतिबद्धता उनले व्यक्त गरे ।

‘यो वडा कार्यालय कुनै नेता वा सीमित व्यक्तिको मात्र हुने छैन, यो सम्पूर्ण जनताको साझा कार्यालय बन्नेछ,’ मिश्रले भने ।

उनले आफू ढोका बन्द गरेर बस्ने अध्यक्ष नभई टोल टोलमा पुग्ने, काम गरेर देखाउने नेतृत्व दिन चाहेको स्पष्ट पारे ।

‘म आश्वासन बाँड्न मात्र नभई परिणाम देखाउन आएको हुँ,’ उनले जोड दिए ।

मतदाताले उनको प्रतिबद्धतालाई कतिको विश्वास गर्नेछन् भन्ने कुरा आगामी निर्वाचनले तय गर्नेछ ।