पर्सा, ३० चैत । वीरगञ्ज महानगरपालिका–९ मा आइतबार अपराह्न भएको आक्रमणमा एक प्रहरी जवानको ज्यान गएको छ ।

मृत्यु हुनेमा पर्साको कालिकामाई गाउँपालिका–१ मुड्ली निवासी २७ वर्षीय विकास चौरसिया रहेका छन् ।

सप्तरी दरबन्दीमा कार्यरत चौरसिया बिदामा घर आएका बेला उक्त घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार केही युवकहरूको समूहले लक्षित गरी चौरसियामाथि आक्रमण गरेको थियो ।

प्रहरी प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार आक्रमणकारीहरूले धारिलो हतियार प्रयोग गर्दै निर्घात कुटपिट गरेका थिए ।

घटनाबारे सूचना पाएलगत्तै पुगेको प्रहरी टोलीले अचेत अवस्थामा रहेका चौरसियालाई तत्काल अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रारम्भिक अनुसन्धान अनुसार रौतहट घर भएका एक परिवारले डेरा लिएर बसेको कोठामा सामान्य विवादबाट सुरु भएको झगडा उग्र बन्दै जाँदा घटना घटेको बताइएको छ ।

घटनामा संलग्न रहेको आरोपमा तीन पुरुष र एक महिलासहित चार जनालाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।

घटनाको कारण र अन्य संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।