रौतहट, २९ चैत । रौतहटको देवाहीगोनाही नगरपालिकामा राजनीतिक समीकरण फेरिएको छ ।

नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख प्रेमलाल साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेसँगै स्थानीय राजनीतिमा नयाँ तरंग देखिएको छ ।

देवाहीगोनाहीमा आयोजित एक कार्यक्रममा मेयर साहसहित वडा नम्बर ४ का अध्यक्ष रामप्रवेश पटेल, वडा नम्बर ९ का अध्यक्ष बिरबहादुर साह लगायतका जनप्रतिनिधिहरूले एमाले परित्याग गर्दै आजपामा प्रवेश गरेका हुन् ।

कार्यक्रममा आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नवप्रवेशी नेताहरूलाई पार्टीमा स्वागत गरेका थिए ।

उनले देश र जनताको हितका लागि वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै आजपा त्यसको नेतृत्व गर्न सक्षम रहेको दाबी गरे ।

एमालेबाट निर्वाचित प्रमुखसहितका जनप्रतिनिधि एकैपटक पार्टी परिवर्तन गर्दा स्थानीय तहको शक्ति सन्तुलनमा असर पर्ने देखिएको छ । यस घटनालाई आगामी राजनीतिक समीकरण र स्थानीय विकासका कार्यक्रमहरूसँग जोडेर पनि हेरिएको छ ।

मेयर साहको पार्टी परिवर्तनलाई लिएर एमाले वृत्तमा असन्तुष्टि बढ्न सक्ने अनुमान गरिएको छ भने आजपाले भने यसलाई आफ्नो संगठन विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।