जनकपुरधाममा २४सै घण्टा खानेपानी आपूर्तिबारे छलफल

जनकपुरधाम, २९ चैत । जनकपुरधाम उपमहानगरपालिका–९ मा खानेपानीको सहज आपूर्ति तथा २४ घण्टा नियमित वितरण सुनिश्चित गर्ने विषयमा सरोकारवालाबीच गम्भीर छलफल गरिएको छ ।
वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साहको पहलमा आयोजित छलफलमा नेपाल खानेपानी संस्थानका महाप्रबन्धक, शुल्क निर्धारण आयोगका अध्यक्ष तथा सदस्यहरू, जनकपुरधाम शाखाका प्रबन्धक, कर्मचारीहरू तथा उपभोक्ता वर्गको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले जनकपुरधाममा हाल देखिएको खानेपानी समस्या समाधानका लागि संस्थानले ठोस पहल गर्नुपर्नेमा जोड दिए ।
उनीहरूले दीर्घकालीन समाधानका लागि जनकपुरधाम उपमहानगरपालिकासँग प्रभावकारी समन्वय आवश्यक रहेको सुझाव समेत दिए ।
छलफलका क्रममा नियमित र भरपर्दो पानी आपूर्तिका लागि प्राविधिक तथा व्यवस्थापकीय सुधार अपरिहार्य रहेको औंल्याइएको थियो । साथै, उपभोक्ताको मागअनुसार २४ सै घण्टा पानी उपलब्ध गराउने लक्ष्यमा अघि बढ्नुपर्नेमा सहमति जनाइएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य निर्मल कुमार चौधरीले यस्तो छलफलले स्थानीय स्तरमा देखिएका समस्याको समाधान खोज्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


