सिरहा, २९ चैत । सिरहाको जिरोमाइलबाट ठूलो परिमाणमा गाँजासहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ निवासी राजेश दास रहेका छन् ।

भारततर्फ गाँजा तस्करी भइरहेको गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले दासलाई नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक यादव खत्रीको नेतृत्वमा सुखिपुरबाट परिचालित टोलीले चेकजाँचका क्रममा मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको जनाएको छ ।

जाँचका क्रममा दासको साथबाट १९ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार तस्करीमा प्रयोग गरिएको अटो रिक्सा, मोटरसाइकल बिग्रिएको बहानामा प्रयोग गरिएको अर्को मोटरसाइकल, नगद २५ हजार १०५ रुपैयाँ समेत बरामद गरिएको छ ।

यस्तै, उनको साथबाट रेडमी ए–फाइभ मोबाइल सेट र करिब ११ तोला बराबरको चाँदीको ब्रासलेट पनि फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दासलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।