मुम्बई, २९ चैत । भारतीय संगीत जगतकी सुविख्यात गायिका आशा भोसलेको निधन भएको छ ।

मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालका चिकित्सकहरूले आइतबार उनको निधन भएको पुष्टि गरेका हुन् ।

कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा भर्ना गरिएकी भोसलेको उपचारका क्रममा निधन भएको जनाइएको छ । उनी ९२ वर्षकी थिइन् ।

८ सेप्टेम्बर १९३३ मा भारतको महाराष्ट्रमा जन्मिएकी भोसलेले बाल्यकालदेखि नै संगीत यात्रा सुरु गरेकी थिइन् ।

पिता दीनानाथ मंगेशकरको निधनपछि परिवारको जिम्मेवारी सम्हाल्दै उनले आफ्नी दिदी लता मंगेशकरसँगै गायन र अभिनयमा सक्रियता बढाएकी थिइन् ।

सन् १९४३ मा मराठी चलचित्रबाट पार्श्वगायन सुरु गरेकी उनले सन् १९४८ को हिन्दी फिल्म चुनरिया मार्फत बलिउडमा प्रवेश गरेकी थिइन् ।

त्यसयता उनले गजल, भजन, पप तथा शास्त्रीय संगीतमा समेत आफ्नो विशिष्ट पहिचान स्थापित गरिन् ।

उनको बहुआयामिक प्रतिभाका कारण गिनीज वर्ल्ड रेकर्ड्सले सन् २०११ मा संगीत इतिहासकै सबैभन्दा बढी स्टुडियो रेकर्डिङ गर्ने कलाकारका रूपमा सम्मान गरेको थियो ।

२० भन्दा बढी भाषामा १२ हजारभन्दा बढी गीत गाएकी भोसलेका ‘दम मारो दम’, ‘चुरा लिया है तुमने जो दिल को’ र ‘पिया तू अब तो आजा’ जस्ता गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन् ।

उनको निधनसँगै भारतीय संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

विश्वभरका संगीतप्रेमी तथा कलाकारहरूले उनको योगदानलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।