सप्तरी, २८ चैत । जिल्ला प्रहरी कार्यालय सप्तरीले बोक्सी आरोपमा कुटपिट तथा अभद्र व्यवहारसँग सम्बन्धित विभिन्न घटनामा संलग्न चार जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

पक्राउ परेकामाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बोदेबर्साइन नगरपालिका–१ धनगढी टोलका २४ वर्षीय रामनारायण यादवलाई बोक्सी आरोपमा एक महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा नियन्त्रणमा लिइएको हो ।

उनले गत असोज २७ गते स्थानीय ईश्वरवती देवी यादवकी सासू निरासी यादवनीलाई बोक्सीको आरोप लगाउँदै गालीगलौज गर्नुका साथै मुखमा कालो मसो र सेतो चुन दल्ने प्रयास गरेको आरोप छ ।

यादवमाथि अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

यस्तै, प्रहरीले अभद्र व्यवहारसम्बन्धी छुट्टाछुट्टै घटनामा थप तीन जनालाई पक्राउ गरेको छ ।

सुरुङ्गा नगरपालिका–६ का २२ वर्षीय सुनील कुमार सदा चैत २६ गते बजार क्षेत्रमा होहल्ला गरिरहेको अवस्थामा प्रहरीको सम्झाइ बुझाइ नमान्दै उल्टै गालीगलौज र ड्युटीमा अवरोध गरेको आरोपमा पक्राउ परेका हुन् । उनीमाथि पनि ६ दिनको म्याद थप गरिएको छ ।

त्यसैगरी, बोदेबर्साइन नगरपालिका–१ का रामचन्द्र मण्डललाई माघ २५ गते मनौर टोलमा एक महिलासहित अन्य व्यक्तिमाथि लाठी र हातपात गर्दै अभद्र व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीमाथि पनि ६ दिनको म्याद थप भएको छ ।

अर्का आरोपी महादेवा गाउँपालिका–४ का ४६ वर्षीय शेखर मण्डललाई चैत २६ गते राजविराज नगरपालिका–२ मा एक व्यक्तिलाई गालीगलौज, धाकधम्की तथा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको छ । उनलाई ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार पक्राउ परेका सबैमाथि सम्बन्धित कसुरमा अनुसन्धान प्रक्रिया तीव्र पारिएको छ ।

उनले यस्ता आपराधिक तथा सामाजिक विकृतिविरुद्ध प्रहरीको निगरानी अझ कडा बनाइने पनि बताए ।