जनकपुरधाम, २८ चैत । नेपाल विद्यार्थी संघले राजर्षि जनक विश्वविद्यालय अन्तर्गतको समिति नेतृत्वमा नयाँ जिम्मेवारी तोकेको छ ।

संघको केन्द्रीय कार्यसमितिले धनुषाका त्रिलोक कुमार यादवलाई विश्वविद्यालय समिति अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो ।

संघको केन्द्रीय कार्यालय काठमाडौंबाट जारी पत्रअनुसार विश्वविद्यालय समितिको अध्यक्ष पद रिक्त रहेकाले विधानअनुसार यादवलाई उक्त जिम्मेवारी दिइएको उल्लेख गरिएको छ ।

पत्रमा संघको विधान २०२७ (सातौं संशोधन २०७५) बमोजिम तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पनि यादवलाई दिइएको छ ।

संघका अध्यक्ष दुजाङ शेर्पाद्वारा हस्ताक्षरित पत्रमा नवनियुक्त अध्यक्ष यादवले संगठनलाई विधि, विधान र मर्यादाभित्र रहेर गतिशील बनाउने विश्वास व्यक्त गरिएको छ । साथै, उनको नेतृत्वले संगठनलाई थप उचाइमा पुर्‍याउने विश्वाससमेत गरिएको छ ।

नेविसंघले विश्वविद्यालय तहमा संगठन विस्तार तथा सुदृढीकरणलाई प्राथमिकतामा राख्दै नेतृत्व चयन गरेको जनाएको छ ।