ग्यास लिक हुँदा भारदहमा भीषण आगलागी, ३५ लाख बराबरको क्षति

सप्तरी, २८ चैत । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा आज ग्यास लिक भएर आगलागी हुँदा एउटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय धर्मदेव दासको जस्ताले बनेको चार कोठे घर आगलागीमा परेर पूर्ण रूपमा ध्वस्त भएको हो ।
आगलागीले दासको तीन कोठे भान्सा घरसमेत जलेर नष्ट भएको प्रहरी निरीक्षक अनिलकुमार साहले जानकारी दिए ।
प्रहरीका अनुसार आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा तथा फर्निचरसहित करिब ३५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनास्थलसम्म पुग्ने बाटो साँघुरो भएकाले बारुणयन्त्र समयमै पुग्न नसक्दा आगो नियन्त्रणमा लिन ढिलाइ भएको र त्यसै कारण क्षति बढेको बताइएको छ ।
स्थानीयवासी, प्रहरी तथा नगरपालिकाको बारुणयन्त्रको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीमा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


