जनकपुरधाममा बजार अनुगमनमा कडाइ

जनकपुरधाम, २७ चैत । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त टोलीले जनकपुरधाममा बजार अनुगमनलाई थप तीव्र बनाएको छ ।
शुक्रबार पनि भानु चोकदेखि भ्रमरपुरा चोकसम्म व्यापक रूपमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा होटल, कपडा पसल तथा किराना व्यवसायमा विशेष निगरानी गरिएको थियो ।
टोलीले मूल्यसूची, सरसफाइ, गुणस्तर तथा बिल विजक प्रयोगको अवस्थाबारे स्थलगत निरीक्षण गरेको जनाएको छ ।
अनुगमनकै क्रममा नियम उल्लंघन गर्ने केही होटल व्यवसायीलाई जरिवाना गरिएको छ । यस्तै, बिल विजक प्रयोग नगर्ने तथा उपभोक्ता अधिकार सम्बन्धी मापदण्ड पूरा नगर्ने केही पसलहरूलाई ७ दिनभित्र सुधार गर्न अन्तिम चेतावनी (अल्टिमेटम) दिइएको छ ।
सम्बन्धित निकायले उपभोक्ता अधिकारको संरक्षण तथा बजारलाई व्यवस्थित बनाउन यस्ता अनुगमनलाई निरन्तर र प्रभावकारी रूपमा अघि बढाइने स्पष्ट पारेको छ ।

