नाप नक्साअनुसार सडक निर्माणको माग गर्दै ज्ञापनपत्र

जनकपुरधाम, २७ चैत । धनुषाको लक्ष्मनिया गाउँपालिका–४ स्थित सपहीचोकदेखि कलिया ठाकुरको फुलबारी हुँदै रम्दैयासम्मको सडक नाप नक्साअनुसार निर्माण गरिनुपर्ने माग गर्दै स्थानीयवासीले गाउँपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
स्थानीय अजय यादवको नेतृत्वमा पुगेको टोलीले गाउँपालिका अध्यक्षसमक्ष ज्ञापनपत्र पेश गर्दै दीर्घकालदेखि उक्त सडक व्यवस्थित रूपमा निर्माण नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको गुनासो गरेको छ ।
उनीहरूले सडक निर्माणमा ढिलाइ हुँदा आवतजावत, शिक्षा, स्वास्थ्य तथा दैनिक जनजीवनमा समस्या भइरहेको बताएका छन् ।
ज्ञापनपत्रमा नाप नक्साअनुसार सडक निर्माण गराउनु स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग गरिएको छ ।
स्थानीयहरूले पटक पटक आग्रह गर्दा पनि कुनै ठोस प्रगति नभएको भन्दै यसपटक बाध्य भएर औपचारिक रूपमा ज्ञापनपत्र बुझाउनुपरेको जनाएका छन् ।
यस विषयमा गाउँपालिका अध्यक्षले मागप्रति गम्भीर ध्यान दिँदै आवश्यक प्रक्रिया अगाडि बढाउने आश्वासन दिए । उनले सडक निर्माणका लागि प्राविधिक अध्ययन तथा बजेट व्यवस्थापन गरी काम अघि बढाइने बताए ।
स्थानीयवासीले चाँडो काम सुरु नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


