जनकपुरधाम, २७ चैत । महोत्तरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गौरीकुमारी यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएकी छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् विस्तारसँगै उनले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएकी हुन् ।

राजनीतिक यात्राको शुरुवातमै उल्लेखनीय सफलता हासिल गरेकी यादव पहिलोपटक चुनाव लडेरै संघीय संसद् पुगेकी थिइन् ।

अब उनी देशको औद्योगिक विकास, व्यापार विस्तार र आपूर्ति व्यवस्थापनजस्तो संवेदनशील क्षेत्रको नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुगेकी छन् । उनको नियुक्तिलाई मधेशबाट उदाएका नयाँ नेतृत्वको उदयका रूपमा समेत हेरिएको छ ।

वि.सं. २०२८ साल माघ ५ गते महोत्तरीको सम्सी गाउँपालिका संग्रामपुरमा जन्मिएकी यादव जमिन्दार परिवारमा हुर्किएकी हुन् ।

लामो समयपछि जन्मिएकी छोरी भएकाले उनी परिवारको विशेष माया र आशाको केन्द्र थिइन् । उनको व्यक्तिगत जीवनसँग जोडिएका केही भावनात्मक प्रसङ्गहरू उनको आत्मकथामा समेत उल्लेख छन् ।

गाउँमा उच्च शिक्षाको सुविधा अभाव भएपछि उनले सानै उमेरमा भारतको सीतामढी पुगेर अध्ययन अगाडि बढाइन् । विज्ञान संकायमा आइएस्सी अध्ययन गरेकी यादवले उच्च शिक्षा हासिल गर्ने क्रममा विभिन्न चुनौतीहरू सामना गरिन् ।

महोत्तरीकै चिकित्सक तथा राजनीतिज्ञ डा. शिवजी यादवसँग उनको विवाह भयो । विवाहपछि उनी श्रीमानसँग रुस गइन् । त्यहाँ उनले रुसी भाषा सिक्नुका साथै चिकित्साशास्त्र अध्ययन सुरु गरिन् । तर, पारिवारिक जिम्मेवारी र सन्तान पालनपोषणका कारण उनको अध्ययन बीचमै रोकिन पुग्यो ।

करिब नौ वर्ष विदेश बसाइपछि नेपाल फर्किएकी यादवले नयाँ जीवन अध्याय सुरु गरिन् । श्रीमान् राजनीतिमा सक्रिय भएसँगै उनले नजिकबाट राजनीतिक परिवेश बुझ्ने अवसर पाइन् ।

यही अनुभवले उनलाई समाजसेवा र राजनीतिक सहभागितातर्फ आकर्षित गर्‍यो ।

पुराना राजनीतिक संरचनाप्रति बढ्दो असन्तुष्टि र परिवर्तनको चाहनाले उनलाई नयाँ शक्तितर्फ डोर्यायो । विशेषगरी काठमाडौं महानगरका मेयरसमेत रहेका बालेन शाहको कार्यशैलीबाट प्रभावित हुँदै उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भइन् ।

गत प्रतिनिधिसभा निर्वाचनमा उनले नेपाली कांग्रेसका महेन्द्रकुमार राय र जसपाका डा. सुरेन्द्रकुमार यादवजस्ता स्थापित नेताहरूलाई पराजित गर्दै ३०,१३२ मतसहित विजय हासिल गरिन् ।

उनको जितलाई मधेशमा नयाँ राजनीतिक लहर र महिलाको बढ्दो सहभागिताको रूपमा विश्लेषण गरिएको छ ।

शिक्षा, स्वास्थ्य र कृषिलाई प्रमुख एजेण्डा बनाएर चुनावी मैदानमा उत्रिएकी यादवले मतदातामाझ विकास र सुशासनको एजेण्डा अघि सारेकी थिइन् ।

अब उद्योगमन्त्रीको जिम्मेवारीसँगै उनले आफ्नो प्रतिबद्धतालाई कार्यान्वयनमा रूपान्तरण गर्ने चुनौती सामना गर्नुपर्नेछ ।

देशको औद्योगिक उत्पादन वृद्धि, व्यापार सन्तुलन सुधार तथा आपूर्ति प्रणालीलाई सुदृढ बनाउने दिशामा उनले कस्तो नीति र कार्यक्रम ल्याउनेछन् भन्ने विषयमा चासो बढेको छ ।

नयाँ अनुहारका रूपमा सरकारमा प्रवेश गरेकी यादवको कार्यसम्पादनले आगामी राजनीतिक भविष्यसमेत निर्धारण गर्ने देखिन्छ ।