जानकी नवमीमा सार्वजनिक बिदा दिन माग

जनकपुरधाम, २६ चैत । जानकी स्वयंसेवक संघले प्रत्येक वर्ष बैशाख शुक्ल नवमीका दिन मनाइने जानकी नवमी तथा जनक जयन्तीको अवसरमा सार्वजनिक बिदा घोषणा गर्न सरकारसँग माग गरेको छ ।
संघले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमार्फत यस्तो माग राखेको हो ।
ज्ञापनपत्रमा संघले माता सीता र राजा जनकको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वलाई जोड दिँदै उनीहरूको योगदान नेपालका सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन सहयोग पुगेको उल्लेख गरेको छ ।
संघका अनुसार सीता नारी मर्यादा, त्याग र धैर्यको प्रतीक हुन् भने राजा जनक आदर्श शासक र दार्शनिक राजाका रूपमा स्थापित रहेका छन् ।
संघले अन्य राष्ट्रिय विभूतिहरूका जन्मजयन्तीमा सार्वजनिक बिदा दिइने प्रचलन रहँदा पनि सीता र जनकसँग सम्बन्धित पर्वमा त्यस्तो व्यवस्था नहुनु असमान व्यवहार भएको पनि बताएको छ ।
त्यसैले उनीहरूले प्रत्येक वर्ष जानकी नवमी र जनक जयन्तीमा सार्वजनिक बिदा घोषणा गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
साथै, संघले सांस्कृतिक पहिचान संरक्षणका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन सरकारसँग अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


