काठमाडौँ, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट फिर्ता बोलाएको छ ।

पार्टीले यस कदमलाई आफ्नै विधानअनुसार ‘राइट टु रिकल’ (फिर्ता बोलाउने अधिकार) प्रयोग गर्दै चैत २५ गते सिफारिस गरेको हो ।

रास्वपाको अनुशासन आयोगले साहले मन्त्री पदको मर्यादा दुरुपयोग गरी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा नियमित गराउन चलखेल गरेको अध्ययन गरेको थियो ।

आयोगको प्रतिवेदनपछि पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेर साहलाई जिम्मेवारीबाट अलग गर्न सिफारिस गरेका छन् ।

पार्टी विधानको धारा २५(४) (क) र ६९ अनुसार पदको दुरुपयोग वा पार्टीको आदर्श र सिद्धान्तमाथि आँच आउँदा पार्टीले सदस्यलाई जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने व्यवस्था छ । हटाइएका साह महोत्तरी–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

साथै, पार्टीले यस कदमलाई आफ्नै अनुशासन र मर्यादा कायम राख्ने एक महत्वपूर्ण उदाहरणको रूपमा हेरिएको बताइएको छ ।