काठमाडौं, २६ चैत । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी थालेका छन् ।

मन्त्री साहको विगतदेखि नै विवादित छवि रहेको र हालको कार्यकालमा समेत शंकास्पद गतिविधिमा संलग्न भएको आशंका बढेपछि यस्तो तयारी गरिएको जनाइएको हो ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार श्रममन्त्री साहका पछिल्ला गतिविधि मन्त्रालयको उद्देश्य र हितसँग बाझिने खालका देखिएका छन् ।

मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा स्वार्थ बाझिने सम्भावित संलग्नता देखिएपछि प्रधानमन्त्रीले उनलाई पदमुक्त गर्ने विकल्प अघि बढाएको बताइएको छ ।

साह विगतमा शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) सम्बन्धी विवादमा समेत मुछिएका व्यक्ति हुन् ।

वैदेशिक रोजगारीसँग सम्बन्धित संस्थासँग उनको निकटता रहेको तथा राति समयमा भेटघाट गरेको सूचनासमेत प्रधानमन्त्रीसम्म पुगेको स्रोतको दाबी छ ।

यता, मन्त्री साहकी श्रीमती जुनु श्रेष्ठको विषय पनि विवादमा परेको छ ।

स्वास्थ्य बीमा बोर्डबाट ११ पटकसम्म बैठकमा अनुपस्थित भएको भन्दै हटाइएकी श्रेष्ठ पुनः सदस्यको हैसियतमा बोर्ड बैठकमा सहभागी भएको विषयले थप प्रश्न उठाएको छ ।

यी सम्पूर्ण घटनाक्रमले मन्त्री साहमाथि नैतिक तथा प्रशासनिक प्रश्न खडा भएको भन्दै सरकारभित्रै दबाब बढ्दै गएको छ ।

प्रधानमन्त्रीले यसबारे चाँडै औपचारिक निर्णय लिन सक्ने स्रोतको भनाइ छ ।