काठमाडौं, २६ चैत । झण्डै दुई तिहाइ बहुमतसहित गठन भएको वर्तमान सरकारलाई ‘जनताको सरकार’ भनिए पनि व्यवहारमा जनतामैत्री नदेखिएको भन्दै चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले काठमाडौंको माईतीघर मण्डलामा दुई दिने धर्ना कार्यक्रम सम्पन्न गरेको छ ।

अभियानले सिंहदरबार जनताको पहुँचबाट टाढा बनाइएको आरोप लगाउँदै ‘जनताको सिंहदरबार’ का रूपमा माईतीघर मण्डलालाई प्रतिकात्मक रूपमा रोजेर धर्ना बसेको जनाएको छ ।

धर्नाका क्रममा अभियानले सरकारलाई ९ बुँदे ध्यानाकर्षण पत्रसमेत पेश गरेको छ । ध्यानाकर्षण पत्रमा चुरे क्षेत्रको संरक्षण, अवैध दोहन रोक्न कडा कानुनी व्यवस्था तथा वनजंगल संरक्षणमा प्रभावकारी कार्यान्वयनको माग समेटिएको छ ।

धर्ना कार्यक्रममा बोल्दै अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले वर्तमान सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरे ।

उनले भने, ‘जनताको मतले बनेको सरकार नै जब जनताबाट टाढा हुन्छ, तब जनताले आफ्नो आवाज सडकबाट उठाउन बाध्य हुन्छन् । सिंहदरबार जनताको लागि खुला हुनुपर्छ । तर, आज जनताको आवाज सुन्ने ढोका नै बन्द गरिएको अवस्था छ ।’

उनले चुरे क्षेत्रमाथि बढ्दो दोहन, नदीजन्य पदार्थको अवैध उत्खनन र वन विनाशले वातावरणीय सन्तुलनमा गम्भीर असर परेको उल्लेख गर्दै सरकारको उदासीनता चिन्ताजनक रहेको बताए ।

‘चुरे भूगोल मात्र नभई यो हाम्रो अस्तित्वसँग जोडिएको संवेदनशील क्षेत्र हो । यसको संरक्षण गरिएन भने भविष्यमा ठूलो विपत्ति निम्तिन सक्छ,’ यादवले चेतावनी दिए ।

अभियानका अनुसार सरकारलाई बुझाइएको ९ बुँदे मागपत्रमा चुरे क्षेत्रमा भइरहेका अवैध गतिविधि तत्काल रोक्न, दीगो विकासका कार्यक्रम लागू गर्न, स्थानीय समुदायलाई संरक्षणमा सहभागी गराउन तथा वनजंगल मास्ने प्रवृत्तिमाथि कडाइ गर्न आग्रह गरिएको छ ।

दुई दिनसम्म चलेको धर्ना कार्यक्रममा विभिन्न जिल्लाबाट आएका अभियान्ताहरूको सहभागिता रहेको थियो । सहभागीहरूले प्लेकार्डसहित सरकारविरुद्ध नाराबाजी गर्दै प्राकृतिक स्रोतको संरक्षणमा गम्भीर बन्न आग्रह गरेका थिए ।

यसैबीच, अभियानले देशव्यापी जनचेतना फैलाउने उद्देश्यसहित ‘मेची–महाकाली जनजागरण यात्रा’ चाँडै घोषणा गर्ने तयारी गरेको जनाएको छ ।

संयोजक यादवका अनुसार उक्त यात्रामार्फत देशका विभिन्न भागमा पुगेर चुरे तथा वनजंगल संरक्षणको महत्वबारे जनतालाई सचेत गराइनेछ ।

‘अब हाम्रो आन्दोलन काठमाडौंमा मात्र सीमित रहने छैन । मेचीदेखि महाकालीसम्म पुगेर हामी जनतालाई सचेत गराउनेछौं र सरकारलाई दबाब दिनेछौं,’ यादवले भने ।