जनकपुरधामका पसलमा भारतीय पेय पदार्थको गुणस्तर जाँच

जनकपुरधाम, २६ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले जनकपुरधामका विभिन्न बजार क्षेत्रमा भारतीय कोल्ड ड्रिङ्क्सको बिक्री–वितरणबारे अनुगमन गरेको छ ।
बजारमा खुलेआम बिक्री भइरहेका आयातित पेय पदार्थको गुणस्तर, लेबलिङ र कानुनी वैधता जाँच गर्न अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा विभिन्न पसल तथा होलसेल व्यवसायमा बिक्रीका लागि राखिएका भारतीय ब्रान्डका कोल्ड ड्रिङ्क्सको उत्पादन मिति, म्याद, मूल्य सूची तथा आयातसम्बन्धी कागजात परीक्षण गरिएको विभागले जनाएको छ ।
केही स्थानमा बिना आधिकारिक अनुमति भित्र्याइएका तथा नेपाली लेबल नभएका पेय पदार्थ फेला परेको प्रारम्भिक जानकारी दिइएको छ ।
टोलीले त्यस्ता अवैध तथा मापदण्डविपरीत सामग्री नियन्त्रणमा लिँदै सम्बन्धित व्यवसायीलाई आवश्यक कागजात प्रस्तुत गर्न निर्देशन दिएको छ । साथै उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिने खाद्य तथा पेय पदार्थमा लापरवाही नगर्न चेतावनी समेत दिइएको छ ।
विभागका अनुसार बजार अनुगमनलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने र नियमविपरीत काम गर्ने व्यवसायीमाथि कडा कारबाही गरिनेछ ।
उपभोक्तालाई पनि म्याद गुज्रेका वा शंकास्पद सामग्री खरिद नगर्न आग्रह गरिएको छ ।



तस्बिरहरू: दिपक गुप्ता
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


