काठमाडौं, २६ चैत । प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दिएकी श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरले आफूले जिम्मेवारी सम्हाल्न सक्षम रहेको दाबी गरेकी छन् ।

बिहीबार सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले देशप्रति सधैँ प्रतिबद्ध रहने बताइन् ।

२५ वर्षीया ठाकुरले कम उमेरमै संवैधानिक पद सम्हाल्न सक्नेबारे उठेको प्रश्नमा छोटो प्रतिक्रिया दिँदै भनिन्, ‘म सक्छु ।’

उनले देशको हितका लागि आफूले हरसम्भव योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

पत्रकारहरूले कानुन निर्माण र नीतिगत विषयमा अनुभवबारे जिज्ञासा राख्दा ठाकुरले आफू देशप्रति समर्पित रहेको दोहोर्‍याउँदै ‘देशलाई सबैथोक गर्छु, सधैँ साथ दिन्छु’ भनिन् ।

यसैबीच, श्रम संस्कृति पार्टीका सांसद आरेन राईले ठाकुरको उम्मेदवारीलाई ऐतिहासिक कदमको रूपमा प्रस्तुत गरेका छन् ।

उनले नेपालमै सबैभन्दा कम उमेरमा उपसभामुख बन्ने सम्भावना रहेको उल्लेख गर्दै आफ्नो पार्टी नयाँ शैलीमा राजनीति गर्न अघि बढेको बताए ।

राईका अनुसार पार्टीमा अन्य सम्भावित उम्मेदवार हुँदाहुँदै पनि रणनीतिक रूपमा ठाकुरलाई अघि सारिएको हो ।

‘यो हाम्रो सोच र निर्णय हो, हामी नयाँ ढंगले काम गर्न चाहन्छौं,’ उनले भने ।

उपसभामुखको प्रतिस्पर्धामा ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसलेसमेत समर्थन गर्ने भएका छन् ।