परवाहामा लोक संस्कृतिको जगेर्ना गर्न दुई दिने उत्सव आयोजना हुँदै

जनकपुरधाम, २६ चैत । धनुषाको औरही गाउँपालिका–२ परवाहामा स्थानीय लोक संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले दुई दिने ‘परवाहा लोक संस्कृति उत्सव २०८२’ आयोजना हुने भएको छ ।
श्री युवा नाट्यकला परिषद् परवाहाको आयोजनामा चैत ३० र वैशाख १ गते कार्यक्रम सञ्चालन हुन लागेको हो ।
उत्सवको पहिलो दिन चैत ३० गते बिहान ९ बजे उद्घाटन कार्यक्रमसँगै विविध सांस्कृतिक प्रस्तुति सुरु हुनेछ ।
उद्घाटनपछि सांस्कृतिक संक्रमणसम्बन्धी विमर्श कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म आल्हा तथा कारिख कुमरजस्ता परम्परागत गाथा गायन प्रस्तुत गरिनेछ भने ३ बजेदेखि ४ बजेसम्म सांस्कृतिक विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।
दोस्रो दिन वैशाख १ गते बिहान ९ बजेदेखि ‘सांस्कृतिक पुनरुत्थान कि पुनर्विष्कार’ विषयमा बृहत् विमर्श गरिनेछ । त्यसपछि देहातको जीवन, संस्कार र कर्मकाण्ड झल्काउने पमरिया लोकनाचसहित विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ ।
मध्याह्नपछि विद्यापति गीत, संस्कार–व्यवहारसम्बन्धी गीत, गोदना, तथा गाथा गायन कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
साँझपख लोरिक, दिनाभद्री तथा सलहेश नाचजस्ता मिथिलाञ्चलका चर्चित लोक विधा प्रस्तुत गरिनेछन् । त्यस्तै, ऋतु गीत, श्रम गीत, नारदी कीर्तनलगायतका कार्यक्रममार्फत स्थानीय संस्कृति झल्काइनेछ ।
अन्तिम चरणमा समापन समारोहसँगै सांस्कृतिक कार्यक्रम राति ११ बजेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
उत्सव मिथिला सांस्कृतिक केन्द्र औरही–२ परवाहामा सञ्चालन हुनेछ भने कार्यक्रमलाई औरही गाउँपालिकाको कार्यालय धनुषाले सहयोग गरेको छ ।
कार्यक्रमका बारेमा जानकारी दिँदै युवा नाट्यकला परिषद्का अध्यक्ष अनिल मिश्रले पछिल्लो समय आधुनिकताको प्रभावले स्थानीय मौलिक संस्कृति ओझेलमा पर्दै गएको भन्दै यस्ता उत्सवमार्फत त्यसको संरक्षण आवश्यक रहेको बताए ।
उनले भने, ‘हाम्रो पहिचान नै हाम्रो संस्कृति हो । नयाँ पुस्तामा यसको महत्व बुझाउन र हराउँदै गएका परम्परालाई जोगाउन हामीले यो उत्सव आयोजना गरेका हौं ।’
अध्यक्ष मिश्रले गाउँघरमा रहेका पुराना लोकगीत, नाच र परम्परागत ज्ञानलाई अभिलेखीकरण गर्दै पुस्तान्तरण गर्ने लक्ष्य पनि रहेको बताए ।
‘हामीले मनोरञ्जनका लागि मात्रै नभई सांस्कृतिक अध्ययन, विमर्श र संरक्षणलाई जोड दिएका छौं,’ उनले थपे ।
उनका अनुसार उत्सवमा स्थानीय कलाकारसँगै विभिन्न क्षेत्रका सांस्कृतिक अभियन्ता, अनुसन्धानकर्ता तथा सरोकारवालाको सहभागिता रहनेछ । यसले मिथिला क्षेत्रको सांस्कृतिक विविधतालाई थप उजागर गर्ने विश्वास आयोजकले लिएको छ ।
स्थानीय तह, कलाकार र समुदायको सहकार्यमा आयोजना हुन लागेको यो उत्सवले परवाहा क्षेत्रलाई सांस्कृतिक केन्द्रको रूपमा स्थापित गर्न टेवा पुग्ने विश्वास गरिएको छ ।







तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


