जनकपुरधाम, २५ चैत । धनुषाको मिथिला नगरपालिकाले पालिकाभित्रका साक्षर तथा निरक्षर नागरिकहरूको पहिचान गर्दै साक्षर घोषणा गर्ने लक्ष्यसहित तथ्याङ्क सङ्कलन कार्य सुरु गरेको छ ।

अभियानअन्तर्गत आजदेखि घरघरमै पुगेर विवरण सङ्कलन थालिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार साक्षरता मूल्याङ्कन निर्देशिका २०७० अनुसार निर्धारण गरिएका १२ सूचकमध्ये हालका लागि महत्वपूर्ण ६ सूचकमा केन्द्रित भएर काम अघि बढाइएको छ ।

शिक्षा शाखा प्रमुख सीता काफ्लेले ती सूचकका आधारमा नागरिकलाई पढ्न लेखन सिकाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन् ।

अभियान प्रभावकारी बनाउन २५ जनालाई आवश्यक तालिम प्रदान गरिएको छ । साथै, सबै वडा कार्यालय र विद्यालयहरूलाई समन्वयात्मक भूमिका निर्वाह गर्न आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।

यसका साथै स्थानीय विद्यार्थीहरूलाई परिचालन गरी घरघरमा पुगेर तथ्याङ्क सङ्कलनमा सहयोग गर्न आह्वान गरिएको छ ।

शिक्षा तथा मानव विकास केन्द्रले निर्धारण गरेका सूचकहरूअनुसार आवश्यक सीप सिकाउन सके नागरिकलाई साक्षर बनाउन सकिने विश्वास नगरपालिकाको छ ।

नगरपालिकाले यो अभियानमार्फत वास्तविक अवस्था पहिचान गर्दै छिट्टै साक्षर नगरपालिका घोषणा गर्ने लक्ष्य राखेको जनाएको छ ।